एजेन्सी — रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्स विरुद्ध इन्डियन प्रिमियर लिग (आईपीएल) मा ९ विकेटको फराकिलो जित दर्ता गरेको छ।
दिल्लीले दिएको ७६ रनको सामान्य लक्ष्य आरसिबीले मात्र ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। ८१ बल बाँकी रहँदै आरसिबीले सहज जित हासिल गरेको हो।
दिल्लीको ब्याटिङ सुरुदेखि नै धराशायी भयो। जोस हेजलवुड र भुवनेश्वर कुमार को घातक बलिङका कारण दिल्ली ८ रनमै ६ विकेट गुमाएर संकटमा परेको थियो। पावरप्लेमै दिल्लीले १३ रन मात्र बनाउन सक्यो, जुन आईपीएल इतिहासकै सबैभन्दा कम पावरप्ले स्कोर हो।
भुवनेश्वरले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए भने हेजलवुडले ३ ओभरमा ८ रन दिँदै ३ विकेट लिए। हेजलवुडले कुल ४ विकेट लिँदै दिल्लीको ब्याटिङ लाइनअप ध्वस्त पारे।
दिल्लीका लागि अभिषेक पोरेल ले ३० रन बनाउँदै टोलीलाई केही सम्मानजनक स्थितिमा पुर्याए। उनीबाहेक अन्य कुनै पनि ब्याटरले २० रनको आँकडा पार गर्न सकेनन्। अन्ततः दिल्ली ७५ रनमै अलआउट भयो।
लक्ष्य पछ्याउने क्रममा आरसिबीले आक्रामक सुरुवात गर्यो। जेकब बेथेल ले ११ बलमा २० रन बनाए भने देवदत्त पडिक्कल ३४ रनमा नटआउट रहे। पावरप्ले समाप्त हुँदा आरसिबी ६५/१ को बलियो स्थितिमा पुगेको थियो।
त्यसपछि विराट कोहली ले लगातार दुई छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए। कोहली २३ रनमा नटआउट रहे। यससँगै उनले आईपीएल इतिहासमा ९ हजार रन पूरा गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान पनि कायम गरे।
यो जितसँगै आरसिबीले अंक तालिकाको शीर्ष स्थानमा रहेको टोलीसँगको दूरी १ अंकमा झार्दै आफ्नो नेट रनरेटमा समेत सुधार गरेको छ।



















