सिमरा,बाराको जीतपुरसिमरामा शुक्रवार ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्य एवं जिल्ला प्रशासन कार्यालय कलैया बाराको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले क्षणिक स्वार्थका लागि नियम विपरितका काम गर्दा भ्रष्टाचार बढेको बताउनुभयो । अत्यन्तै बढी विवादित हुने बिषय सार्वजनिक खरिद नियमावलीमा सरोकारवालाहरुले सचेत हुनुपर्ने उहाँले बताउनुभयो । ‘बाराका कतिपय जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह नगर्दा जिल्लाको अधिकांश पालिकामा बेथिति बढेको छ । सिम्रौनगढ, पचरौता, आदर्शकोतवाल पालिकामा अझै बजेट पारित हुन सकेको छैन ।’ प्रजिअ सापकोटाले भन्नुभयो ।कर्मचारीहरुलाई सुशासन र सेवा प्रवाहको बारेमा दिइने कार्यक्रम प्रभावकारी हुने बताउँदै प्रजिअ सापकोटाले धन्यावाद व्यक्त गर्दै छलफल र प्रशिक्षणमुलक यस्ता कार्यक्रम अन्य पालिकाले समेत गर्न आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा सार्वजनिक खरिद कार्यालयका पूर्वसचिव डा.दामोदर रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले सबैभन्दा नजिक र घरदैलोको सरकार भनेको पालिका सरकार नै भएकाले सुशासन र सेवा प्रवाह प्रभावकारी भएमा सर्वसधारणले पनि सन्तुष्टि प्राप्त गर्ने बताउनुभयो । प्रभावकारी सेवा प्रवाह भए सुशासन कायम हुने बताउँदै उहाँले जनप्रतिनिधि होस वा कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नुपर्ने बताउनुभयो ।संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझा शासन र स्वशासनको बारेमा प्रकाश पार्दै उहाँले सरकारले राम्रो काम गरे जनताले रुचाउँने र जनता सन्तुष्टि भएको सरकार रहने भएकाले यस्तो अवस्थामा सुशासन पनि कायम हुने उहाँले बताउनुभयो ।तीन तहका सरकारका बीचमा राजस्वको बाँडफाँट, सार्वजनिक खरिद, बजेटको कार्यान्वयन लगायतका विषयमा डा.रेग्मीले आफ्नो धारणा राख्दै नियम कानुनको परिधिभित्र रहेर जनताको काम प्रभावकारी रुपमा सम्पदान गर्न सकियो भने सुशासन कायम हुने बताउनुभयो ।नायव महालेखा परीक्षक मधेस प्रदेश कार्यालयका प्रमुख श्याम भण्डारीले महालेखा परीक्षणको कार्यलाई प्रभावकारी बनाउन दक्ष जनशक्तिको आवश्यकता भएको बताउनुभयो ।आचार संहितको पालना गर्दै लेखा परीक्षणको काम गर्दा कानुनी रुपमा पद्धति र विधि पुर्याएर गर्नुपर्ने उहाँको भनाई थियो । प्रदेश र स्थानीय तहको लेखा परीक्षणको काम गर्दा सबै प्रक्रिया एवं विधिलाई ध्यान दिदै अगाडी बढदा प्रभावकारी हुने उहाँले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले आव २०८०-०८१ मा बाराबाट ३७० वटा उजुरी अख्तियारमा परेको जानकारी दिनुभयो । भ्रष्टाचार, अनियमितता लगायतका विषयमा ति उजुरीहरु परेको उहाँले बताउनुभयो । कार्यक्रममा आचार्यले सामाजिक उतरदायित्वका औजारहरुको प्रयोगका रुपमा सार्वजनिक सुनुवाइ, जनसहभागिता र निष्पक्षतामा ध्यान दिदै अगाडी बढे भ्रष्टाचारलाई न्यनीकरण गर्न सकिने बताउनुभयो ।जीतपुरसिमरामा आयोजित यस्तो प्रशिक्षणमुलक कार्यक्रमले सेवा प्रवाहका कार्यक्रम प्रभावकारी भएको बताउँदै प्रमुख आचार्यले मधेसका हरेक जिल्ला र पालिकामा यस्तो कार्यक्रम गर्दै जानुपर्ने र यसले सेवाग्राहीलाई सुशासनको प्रत्याभुति गराउँने विश्वास व्यक्त गर्नुभयो ।जीतपुरसिमरा उपमाहनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजीप्रसाद साहले पहिलो पाँच वर्षे कार्यकालमा ऐन, कानुनको अभावमा काम गर्न असजिलो भएको बताउँदै कानुन निर्माण भएसंगै संघीय कानुनको सहयोगमा सेवा प्रवाह प्रभावकारी बन्दै गएको बताउनुभयो । सार्वजनिक खरिदमा समस्या देखिरहेको बताउँदै उहाँले जीतपुरसिमरा उपमहानगरपालिकामा आव ०७८÷७९मा ४३ करोड ५३ लाख ९३ हजार बेरुजु रहेको जानकारी दिनुभयो ।
गाउँघरको सरकार पालिका सरकार भएको बताउँदै उहाँले सेवा प्रवाहमा संघीय र प्रदेश सरकारभन्दा पालिका सरकार महत्वपूर्ण भएको बताउनुभयो । सोही अनुसार पालिका सरकारबाट उपलब्ध गराउँनुपर्ने सेवाहरु आफूहरुले उपलब्ध गराईरहेको पनि बताउनुभयो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै अगाडी बढे सुशासन कायम गर्न सकिने बताउनुभयो । जनताको काम जनप्रतिनिधि र कर्मचारीले तोकिएकै समयमा नगर्दा समस्या देखिएको बताउँदै उहाँले जनप्रतिनिधि र कर्मचारीको मनोमानीका कारण अहिलेको व्यवस्थामाथि नै प्रश्न उठेको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीले ढिलासुस्ती गर्दा सेवाग्राहीले समयमै सेवा पाउँन नसकेको साहले बताउनुभयो ।आयोजक संस्थाका अध्यक्ष चौलागाईले सुशासन र सेवा प्रवाहको बारेमा जितपुर सिमरामा आयोजित कार्यक्रम सुरुवात भएको बताउँदै मधेस प्रदेशका सबै जिल्लामा यस्तो कार्यक्रम आयोजना गरिने बताउनुभयो ।पश्चिम मधेसबाट सुरु भएको कार्यक्रम पूर्वमधेसको सिरहा, सप्तरी लगायतका जिल्लामा समस्याहरुको पहिचान गर्दै आएका सुझाबहरुलाई समेटेर काठमाडौंमा सरोकारवालाहरुको सहभागितामा समाधानका उपायका बारेमा बृहत छलफल कार्यक्रम आयोजना गरिने पनि चौलागाईले बताउनुभयो ।कार्यक्रममा बारा जिल्लाका विभिन्न कार्यालयका कार्यालय प्रमुख, कर्मचारी, जीतपुरसिमरा उपमहानगरपलिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागिहरुले पालिकाबाट प्रवाह हुने सेवा, नागरिकता सिफारिस, घटना दर्ता, विकासका काम प्रभावकारी बन्न नसकेकोमा प्रश्न उठाउँदै सरोकारवालासंग जवाफ मागेका थिए ।

Leave a Reply