वीरगन्ज,खुला सीमाको कारण विगत एक वर्षमा पर्साबाट मात्रै झन्डै ३ करोड नेपाली रुपैयाँसहित ३१ जना पक्राउ परेका छन । खुला सीमाको कारण बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा अवैध हुण्डीको कारोबार बढ्दै गएपछि पक्राउ पर्नेको संख्या पनि बढेको हो ।

अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक सातायता जगरनाथपुरको जानकी टोला, पर्साको धोविनी र बीरगन्जबाट झन्डै १७ लाख रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय नियमित रूपमा हुन्डी कारोबारी पक्राउ परेको तथ्याङ्कका आधारमा अवैध कारोबारको सञ्जाल मौलाउँदै गएको प्रहरीले समेत स्वीकारेको छ । कारोबारमा संलग्न मध्ये अधिकांश भारतीय नागरिक रहेको र गत आर्थिक वर्षमा पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न २५ जनालाई पक्राउ गरेको मध्य तीमध्ये १३ भारतीय र १२ नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताएका छन । उनीहरूबाट २ करोड १७ लाख ९९ हजार ५ सय २० रुपैयाँ बरामद भएको थियो । प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा कानुनी कारबाही चलाउने गरेको छ । हुण्डी कारोबारीले सीमा पारीबाट नेपाली रुपैयाँ बोकेर आउँछन् ।

यसबाहेक सुनचाँदी कारोबारी तथा विभिन्न किसिमले नेपालमा कर छली गरेर भारतमा रकम गएको नेपालीहरूले आफ्नो आवश्यकता परेका बेला त्यस्तो रकम स्वदेश ल्याउन हुन्डीको माध्यम अपनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

Leave a Reply