वीरगन्ज,वीरगन्जमा तातो अलकत्राले पोलेर दुई जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर– ३ छपकैयाका ३८ वर्षीय महम्मद रेयाज मिया र ३९ वर्षीय सैमुल्लाह मिया मन्सुरी घाइते भएका हुन् ।
घाइतेमध्ये दुबै पैताला र हातमा अलकत्राले पोलेको सैमुल्लाहको नारायणी अस्पतालमा भइरहेको छ । भर्खर कालोपत्रे गरेको सडकबाट हिँड्दै गर्दा उनीहरु लडेर अलकत्राले पोलेको हो वा अरुले छ्यापेको हो भन्ने बारेमा प्रहरीले पुष्टि गर्न सकेको छैन । यद्यपि भर्खरै कालोपत्रे भएको सडकमा उनीहरु हिँडेका बेला ठेकदारका प्रतिनिधिहरुसँग विवाद भएको भने प्रहरीले पुष्टि गरेको छ ।
पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भर्खरै कालोपत्रे गरेको सडकमा मोटरसाइकल चलाउदै गर्दा लडेर उनीहरु घाइते भएको जानकारी आफूले पाएको बताउनुभयो । घाइतेहरुले भने ठेकेदार पक्षले तातो अलकत्रा छ्यापेको आरोप लगाएका छन् । घाइते रेयाज मियाका अनुसार हिजो राति सवा १० बजे घरतर्फ गइरहेका बेला ठेकदारका सहयोगीहरुले जान दिन्नौं भनेर अलकत्रा छ्यापेका हुन् ।