निजगढ,इलाका प्रहरी कार्यालय निजगढ नगरपालिकामा वडा नम्बर १२ मा १६ कट्ठा जमिनमा लगाइएको गाँजा खेती बुधवार नष्ट गरेको छ ।प्रहरीले प्रतिबन्धित गाँजा खेती विरुद्धको कारबाहीको क्रममा निजगढ नगरपालिका वडा नम्बर १२ को रामथली, सालबिसाउनी र ज्यामिरे क्षेत्रमा लुकिछिपी लगाइएको गाँजा फडानी गरेर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ईलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरी टोलीले निजगढ १२ मा विभिन्न व्यक्तिले १६ कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको २० हजार बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुन बमोजिम कारवाही गरिने इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरपालिकाका अन्य क्षेत्रमा गरिएको गाँजा खेती पनि नष्ट पारिने बताउनुभयो ।


















