निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय बागदेवले विद्यालयमा जङ्क फुड प्रयोगमा रोक लगाएको छ ।बालबालिकाहरुको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले विद्यालयले जङ्क फुडको प्रयोगमा रोक लगाएको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिनुभयो । प्रधानाध्यापक लामाले जारी गरेको सूचनामा विद्यालय व्यवस्थापन समितिको गत मंसिर ७ गते बसेको बैठकको निर्णय अनुसार विद्यालयमा चाउचाउ, चटपटे, विस्कुट, चकलेट जस्ता जङ्क फुड मंगलवारदेखि प्रयोग गर्न नदिने निर्णय गरिएको जनाइएको छ ।प्रअ लामाले सूचनामार्फत आफ्ना बालबालिकाहरुलाई खाजाको लागि घरबाट कुनै किसिमको जङ्क फुड दिएर विद्यालयमा नपठाउन पनि अभिभावकहरुसंग आग्रह पनि गर्नुभएको छ ।जङ्क फुडको प्रयोगबाट बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकोले यसको विद्यालय हाताभित्र यसको प्रयोग निषेध गरिएको उहाँले जानकारी दिनुभएको छ । दिवा खाजामा विद्यार्थीहरुले जङ्क फुड प्रयोग गर्ने क्रम बढेपछि समितिले यसमा रोक लगाउने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभएको छ ।

















