निजगढ,निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले विद्यालयका समस्या समाधान गरि शैक्षिक वातावरण राम्रो बनाउन नगरपालिका लागिरहेको बताउनुभएको छ । निजगढ ७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले पेस गरेको मागपत्र बुझ्दै मंगलवार नगरप्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।

निजगढ ७ लच्काटोलमा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले विद्यालयका विभिन्न समस्या समाधान गरि शैक्षिक वातावरण थप प्रभावकारी बनाइदिनभन्दै नगरप्रमुख समक्ष मागपत्र पेश गरेको विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताउनुभयो ।
सोही अवसरमा नगरप्रमुख पुरीले नगरपालिकाको आफ्नो श्रोतले भ्याउने कार्य नगरबाटै गरिने र ठूलो श्रोत आवश्यक पर्ने योजनाका लागि अन्य निकायमा सिफारिस गरिदिने प्रतिवद्धता जनाउनुभएको हो ।विद्यालयले माग गरेको विद्यालय भवन निर्माणको लागि प्रदेश तथा संघीय सरकारको सम्बन्धित निकायमा सिफारिस गरिदिने बचन दिनुभएको प्रधानाध्यापक स्वर्णकारले बताउनुभयो ।विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक जनशक्ति, व्यवस्थापन लगायतका विषयमा ज्ञापनपत्र बुझाईएको प्रअ स्वणकारको भनाई छ ।
निजगढ नगरपालिकाले समग्र शैक्षिक सुधारका लागि कार्यदल बनाएर सघन अनुगमन समेत गरिरहेको छ । प्रधानाध्यापक स्वर्णकारको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण सापकोटा, विरेन्द्र महतो र विद्यालयका शिक्षकलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply