पुष्पराज खतिवडा
बारा,वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा पोखरेलले मंगलवार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारको निरीक्षण गर्नुभएको छ ।पञ्चवर्षिय गढीमाई मेलाका अवसरमा बारा आउनुभएकी राज्यमन्त्री विश्वकर्मा पोखरेलले विशेष समय निकालेर मातहतको कार्यालयको निरीक्षण गर्नुभएको हो ।
मन्त्रीलाई कार्यालयमा स्वागत गर्दै पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामचन्द्र खतिवडाले निकुञ्जका समस्या र आगामी रणनीतिक योजनाबारे राज्यमन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो ।
उहाँले वन तथा निकञ्ज कानुन समय सापेक्ष नहुँदा मानव र वन्यजन्तुबीचको द्वन्द बढिरहेको बताउनुभयो । यस्ता द्वन्दको मारमा दलित, गरिब, खोला किनार, वनक्षेत्र नजिकै बस्नेहरु समस्या परिहेको उहाँको भनाई छ । यद्यपि कानुनी जटिलताका कारण केही गर्न सक्दैनौ, निकुञ्ज प्रमुख खतिवडाले बताउनुभयो ।निकुञ्ज प्रमुख खतिवडाका कुरा सुनेपछि राज्यमन्त्री विश्वकर्मा पाखरेलले निकुञ्जका कयौं कानुन समय सापेक्ष नभएको स्वीकार्दै जनता दुःखमा पर्दैआइरहेको बताउनुभयो ।
यस्ताखाले समस्या समाधन दिनेगरी केही कानुन संशोधनका लागि मन्त्रीपरिषदमा लैजाने तयारीमा रहेको पनि बताउनुभयो । कुन कानुन भन्नेबारे प्रष्ट नपारेपनि उहाँले वन र निकुञ्जसँग संवन्धित अन्य कानुन संशोधनका लागि पहल गरिने बताउनुुभयो ।वनक्षेत्र, खोलानजिक प्राय दलित गरिब, विपन्न समुदायको बसोबास हुने र वन्यजन्तुले उनीहरुलाई नै बढी दुःख दिँदा समस्या भएको उहाँले सुनाउनुभयो । ‘बस्ती हटाउन या वन्यजन्तु नियन्त्रण गर्न दुबै असम्भव छ, यद्यपि क्षेतिपूर्तिको व्यवस्था हुने गरी कानुन आवश्यक देखेका छौं ।’ उहाँले भन्नुभयो ।


















