राजकुमार यादव
मौलापुर,रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव सुरेन्द्र प्रधान हाजिर हुनुभएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा नगर कार्यपालिका सदस्यहरुबीच कायम विवादका बीच प्रधानले बुधवार हाजिर गर्नुभएको हो ।यसअघि नगरपालिकाका केही जनप्रतिनिधिहरुले रोक लगाएका कारण हाजिर वहुन नपाउनुभएका प्रशासकीय अधिकृत प्रधानलाई कार्यवाहक नगर प्रमुख आम्बेया खातुनसहित केही वडा अध्यक्षहरुले कार्यालयको ताला फोडेर हाजिर गराएका हुन । प्रधानालाई हाजिर गराउने विषयमा उपप्रमुख खातुन र कार्यपालिका सदस्यहरुबीच चलेको विवादका कारण प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडा अध्यक्षहरुले दुई सातादेखि ताला लगाएका थिए ।संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सो पालिकामा केही दिनअघि नयाँ प्रशासकीय अधिकृतको रूपमा उपसचिव प्रधानलाई पठाएकोमा विभिन्न आरोप लगाउदै स्थानीय केही जनप्रतिनिधिले हाजिर गर्न रोक लगाएका थिए । कार्यवाहक नगर प्रमुख खातुन नयाँ कार्यकारी प्रमुख प्रधानको पक्षमा हुनुहुन्थ्यो भने कार्यपालिकका बहुमत सदस्यहरु उहाँलाई हाजिर नगराउने पक्षमा थिए । प्रधानलाई हाजिर गराउन कार्यवाहक नगर प्रमुख खातुन र केही वडा अध्यक्षहरुले प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए ।यद्यपि प्रधानलाई हाजिर गराउने विषयमा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अहिले पनि विवाद कायम नै छ । फतुवा विजयपुर नगरपालिका वडा ९ का वडाध्यक्ष राकेश यादवका अनुसार अधिकृत प्रधान मनमानी ढंगले नगरपालिकामा हाजिर हुन आएको बताउनुभयो । उहाँले नेपाली कांग्रेश पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु अहिले पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रधानलाई स्वीकार गर्ने पक्षमा नरहेको जानकारी दिनुभयो । तर वडा नम्बर २ का वडाध्यक्ष अनरूध यादव (संजय) ले अधिकृत प्रधानलाई नयाँ हाकिमको रुपमा स्वीकार गर्दै फूलमालले स्वागत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रधानले हाजिर गरेपछि कार्यालयमा राखिएको अनौपचारिक कार्यक्रममा वडाध्यक्षहरु र कर्मचारीहरुले प्रधानको स्वागत गरेका थिए । उहाँलाई अवीर, माला र खादा लगाएर स्वागत तथा सम्मान समेत गरिएको थियो ।जनप्रतिनिधिहरुबीच जारी विवादले कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयमा समेत विवाद उत्पन्न भएको हो । लामो समयदेखि जारी विवाद र प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको काम ठप्प बन्दै आएको छ । कार्यालयको आर्थिक गतिविधि शून्य बनेको छ भने नगरभित्रका शिक्षक लगायत ३ सय ५० भन्दा बढी कर्मचारीहरुले चालु आर्थिक वर्षको तलब पाउन सकेका छैनन । लाभग्राहीहरुले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता बापतको रकम नपाएपछि उनीहरुले दशैँ, तिहार र छठजस्ता लोक पर्वसमेत राम्ररी मनाउन पाएनन । त्यसैगरी नगरपालिकमा विकास निर्माणको काम पनि ठप्प बनेको छ ।नगर प्रमुख गोपाल राय यादव लालबकैया नदीको नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा निलम्बन परेपछि खातुनले कार्यवहाक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
















