कलैया,नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले अन्यत्र जिल्लाका जनताले अस्वीकार गरेका नेतालाई आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ का मतदाताले पनि अस्वीकार गर्नुपर्ने बताउनुभएको छ ।नेकपा एमाले करैयामाई गाउँपालिका कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बिहीवार यस्तो बताउनुभएको हो । ‘अन्यत्रका जनताले लत्याएका नेतालाई बारा क्षेत्र नम्बर २ का मतदाताले पनि स्वीकार गर्न सक्दैनन, उहाँले भन्नुभयो, जनताले आफ्नो सुखदुखमा साथ दिने र खोजेको बेला पाउनसक्ने नेता रोज्नुपर्छ ।’ चुनाव हारेपछि क्षेत्र परिवर्तन गर्दै हिड्ने उम्मेदवार आफू नभएको भन्दै उहाँले आफूले बिगत ५० वर्षदेखि बारा जिल्लाका जनताकै बीचमा काम गर्दै आएको पनि बताउनुभयो ।जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरीका जनताले पराजित गरेपछि सुरक्षित स्थान खोजी गर्दै यता आएको भन्दै बारा जिल्ला बारा जिल्ला अन्यत्रबाट फ्याकिएको फोहोर थुपार्ने ठाउँ नभएको पनि बताउनुभयो । ‘यहाँका जनतामा पनि स्वाभिमान र गौरवशाली इतिहास छ, पौडेलले भन्नुभयो, सप्तरीबाट हारेकालाई जनताले जिताउन सक्दैनन ।’ उहाँले आफूले जितेको क्षेत्रको विकासमा कुनै काम गर्न नसकेपछि पराजित हुनुपरेको र यादवले बाराबाट जितेर गए भने पनि जनताको लागि केही काम नगर्ने बताउनुभयो । ‘जनताको हित र विकासको काम गरेको भए किन जनताले सप्तरीबाट हराएर पठाउथे, पौडेलले भन्नुभयो, काम गर्न नसक्नेलाई बाराका जनताले जिताएर किन पठाउने ।’ अध्यक्ष यादव यसअघि मोरङ्ग, सुनसरी र सप्तरीबाट पराजित हुदै चुनाव जित्न भनेर बारा आइपुगेको भन्दै नेता पौडेलले मधेसका जनताले पटकपटक अस्वीकृत गरेको नेतालाई बारा क्षेत्र नम्बर २ का जनताले अस्वीकार नै गर्ने बताउनुभयो ।पौडेलले पाँच दलीय गठबन्धनको नाममा बारा क्षेत्र नम्वर २ का जनताको आफ्ना प्रतिनिधि आफैले रोज्न पाउने अधिकारी खोस्ने प्रयास भइरहेको बताउदै जनतालाई सचेत रहन पनि आग्रह गर्नुभयो । मताधिकार गर्ने जनताको अधिकार भएको बताउदै गठबन्धनको नाममा सत्तारुढ ५ दलका शीर्ष नेताहरुले जनताको अधिकार खोस्ने प्रयास गरेको पनि उहाँले बताउनुभयो ।‘यस क्षेत्रका मतदाताको प्रतिनिधित्व नै गर्न नसक्नेहरुलाई मतदान गर्न जरुरी छैन, उहाँले भन्नुभयो, जनताले विवेकको प्रयोग गरेर मतदान गर्नुपर्छ ।’ उहाँले बारा क्षेत्र नम्बर २ को प्रनिधित्व सप्तरीमा लैजाने षडयन्त्र गरिएको आरोप लगाउदै त्यसपछि क्षेत्रका जनता प्रतिनिधिबिहीन अवस्थामा पुग्ने स्पष्ट पार्नुभयो । ‘बाहिरका नेताहरु जितेर गएपछि फर्केर आउदैनन, उहाँले भन्नुभयो, त्यतिबेला जनताले पछुतो मानेर बस्नुपर्ने अवस्था हुन्छ ।’उहाँले गत मंसिरमा भएको आम निर्वाचनमा बारा क्षेत्र नम्बर २ का जनताले जसपाका उम्मेदवार रामसहाय यादवलाई जिताएर पठाएको स्मरण गर्दै उपेन्द्र यादवको सत्तालिप्साले उहाँलाई उपराष्टपती बन्न लगाएर बाराको क्षेत्र खाली गराइएको पनि बताउनुभयो । ‘जनताले जिताएर पठाएका प्रतिनिधिलाई राजिनामा गर्न लगाएर जनताको मतको अपमान गरिएको छ, उहाँले भन्नुभयो, जनमतको पटकपटक अपमान गर्ने पार्टी र नेतालाई जनताले भोट दिनुपर्ने कुनै कारण छैन ।’ गाउँपालिका कमिटीका अध्यक्ष धिरेन्द्र चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवंम पूर्वमन्त्री ज्वाला साह, अर्का पोलिटब्युरो सदस्य अच्युत मैनाली, केन्दीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, मधेस प्रदेश कमिटी सांसद देवनारायण चौधरी, त्रिलोकी चौधरी, मनोज पौडेल, रबिन्द्रदास श्रेष्ठ, दशरथ राम, भुलन चौधरी, रबिन्द्र खकुरेल लगायतको उपस्थिति रहेको थियो ।


















