रतनपुर,निजगढ नगरपालिका १३ स्थित शक्तिश्वर मन्दिर गुफामा हरिबोधिनी एकादशी मेला लगाइने भएको छ ।
यही मंसिर ७ गतेदेखि लाग्ने मेलामा विभिन्न संस्कृतिक नृत्य, खेल र मनोरञ्जनात्मक स्टलहरु राखिने मेला आयोजक समितिका अध्यक्ष दिपक न्यौपानेले जानकारी दिनुभएको छ ।पर्वको अवसरमा डम्बरपुरस्थित शक्ति खोला किनारमा फूल तार्ने र पूजा गर्ने भक्तजनको उपस्थितिसंगै मेला लगाउने तयारी पनि भएको हो । हरिबोधिनी एकादशीको दिन शक्ति खोला किनारमा पर्ने शिव शक्तिश्वर मन्दिर गुफा परिशरमा हरेक वर्ष मेला लागाइदै आइएको छ ।हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना सहित घरघरमा तुलसीको पूजा गर्ने गरिन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह गरिदिने चलन चलेको हो ।मेला आयोजक समितिका अध्यक्ष न्यौपानेका अनुसार मेलामा डम्बरपुर, रतनपुर, भक्तलाल, हेटौडा र अम्लेखगञ्जबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु ढोलीमा फूल र प्रसाद लिएर शक्ति नदीमा फूल तार्न आउने गरेका छन । सोही दिन भजन, कृतन, नाचगानसहित पूजा गरेर शक्ति नदीमा तोरन पनि टाँगिने परम्परा छ ।

Leave a Reply