कलैया,बाराका १६ स्थानीय तहमध्ये १३ वटाले मात्रै तोकिएको मितिभित्र आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र सुवर्ण गाउँपालिका बाहेक अन्य सबै पालिकाहरुले बजेट सार्वजनिक गरेका छन ।निर्धारित समयभित्रै नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नेमा कलैया महानगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ, पचरौता र महागढीमाई नगरपालिका तथा करैयामाई गाउँपालिका, पर्सौनी, परवानीपुर, बारागढी, आदर्शकोतवाल, फेटा, विश्रामपुर, देवताल र गाउँपालिका रहेका छन ।
जिल्लाको सदरमुकाम कलैयामा रहेको कलैया उपमहानगरपालिकाले जिल्लामा सबैभन्दा बढी १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ४९ को बजेट तथा नीति, कार्यक्रम सार्वजनिक गरेको हो । महागढीमाई नगरपालिकाले ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँ,कोल्हवी नगरपालिकाले ७९ करोड २३ लाख,सिम्रौनगढ नगरपालिकाले ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ,पचरौता नगरपालिकाले ६५ करोड ३१ लाख८६ हजार ९ सय रुपैयाँ बराबरको निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
त्यसैगरी आदर्श कोतवाल गाउँपालिकाले ४५ करोड ५३ हजार ५९ रुपैयाँ,करैयामाई गाउँपालिकाले ४३ करोड ७२ लाख ९८हजार ९ सय २२,बारागढी गाउँपालिकाले ४१ करोड ९० लाख ६१ हजार २ सय ३८,प्रसौनी गाउँपालिकाले ४१ करोड १ लाख,फेटा गाउँपालिकाले ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँ,देवताल गाउँपालिकाले ३८ करोड ८५ लाख ९९ हजार ५ सय ५६,परवानीपुर गाउँपालिकाले ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ र बिश्रामपुर गाउँपालिकाले ३२ करोड १० लाख ४९ हजार ५ सय ८८ रुपैयाँ बराबरको बजेटसहित नीति,कार्यक्रमसार्वजनिक गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र हालसम्म नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेका छैनन ।
जीतपुरसिमरामा आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि कार्यपालिका बैठकमा सहमति हुन नसकेपछि नगर प्रमुख राजन पौडेलले आगामी असार १८ गतेका लागि अर्को बैठक तोक्नुभएको छ ।
त्यस्तै निजगढ नगरपालिकाकाले पनि नगर सभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नसकेको छैन ।सुर्वर्ण गाउँपालिकाले भने आगामी असार १८ गते नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने जनाएको छ ।
स्थानीय तहहरुले हरेक वर्ष असारको १० गतेभित्र आगामी वर्षको नीति कार्यक्रम तथा बजेट नगर सभामा पेस गरेर पारित गर्नुपर्ने संबैधानिक व्यवस्था छ ।
निजगढनगरसभा फेरि स्थगित
निजगढ,निजगढ नगरपालिकाको नगर सभाको सोह्रौं अधिवेशन अन्तर्गत मंगलवारको लागि बोलाइएको नगर सभा बैठक पनि स्थगित भएको छ ।आगामी आर्थिक वर्ष २०८२-०८३ को लागि नीति, कार्यक्रम र बजेटमा छलफल गर्न यसअघि सोमवार बोलाइएको कार्यपालिका र नगर सभा बैठक पनि स्थगित भएपछि नगर प्रमुख सुरथ पुरीले सूचना निकालेर गरेर मंगलवारदिउँसो २ः०० बजेका बैठक आह्वान गर्नुभएको थियो ।
नगर कार्यपालिकाको नीति, कार्यक्रम तथा बजेटबारेमा छलफल गर्न मंगलवारको बैठकमा पनि कार्यपालिकाका सदस्यहरुबीच सहमति हुन नसकेपछिनगर प्रमुख पुरीले सूचना निकालेर हालको लागि नगर सभा बैठक स्थगित गरिएको जनाउनुभएको हो । सूचनामा अर्को बैठक बस्ने मिति र स्थान भने खुलाइएको छैन । प्रमुख पुरीले अर्को सूचना गरेर बैठकबारे पछि थप जानकारी गराइने बताउनुभएको छ ।
नेपाली कांग्रेस र माओवादीबाट निर्वाचित कार्यपालिका बहुमत सदस्यहरुले वडा कार्यालय र कार्यापालिका सदस्यहरुले पाउने बजेटको कार्यपालिका बैठकबाटै सिलिङ्ग तोकेर सभा गनुपर्ने माग राख्दै माग पुरा नभएसम्म कार्यपालिका र नगर सभा बैठकमा सहभागी नहुने अडान राखेका छन । नगर प्रमुख पुरीले भने तोकिएको समय सीमाभित्रै सभा सम्पन्न गर्नुपर्ने बाध्यताका कारण बजेट सिलिङ्गको बारेमा पछि छलफल गर्ने गरी सभा सभा सम्पन्न गरेर जानुपर्ने आग्रह गर्दैआउनुभएको छ । दुबै पक्षको अडानका कारण नगर सभा प्रभावित बनेको हो ।यसैबीच आफ्ना माग बोकेर मंगलवार नगरपालिका कार्यालयमा पुगेका कार्यपालिका सदस्यहरुको ज्ञापन पत्र बुझ्न नगर प्रमुख पुरीले अस्वीकार गर्नुभएको छ ।आफै कार्यकारी निकाय भएकोले कार्यपालिका सदस्यहरुले नगर प्रमुखलाई बुझाउन नमिल्ने र आफूले ज्ञापन पत्र पनि नबुझ्न बताएपछि उनीहरुले प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याललाई आफ्नो मागबारे जानकारी गराएको वडा नम्बर १२ का वडा अध्यक्ष सूर्यबहादुर घलानले जानकारी दिनुभयो ।


















