सिमरा,ट्रक चालकहरूको संस्था नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले मंगलवारदेखि कुनै पनि मालवाहक सवारी साधन नचलाउने निर्णय गरेको छ ।मजदुर सङ्गठनले सोमवार एक कार्यक्रमको आयोजना गरी राजमार्गमा भारतीय गाडी हाबी हुँदा नेपाली ट्रक मजदुर समस्यामा परेको भन्दै मंसिर ५ गतेदेखि मालवाहक सवारी साधन नचलाउने निर्णय गरेका हुन् ।ट्राफिक प्रहरीले राजमार्गमा भारतीय गाडीलाई निर्बाध रूपमा गुड्न दिए पनि नेपाली मालवाहक गाडीहरूलाई ठाउँ ठाउँमा रोकेर अनावश्यक चेकजाँच गर्दै दुःख दिने गरेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष नवराज कार्कीले आरोप लगाउनुभयो ।ट्रक यातायात मजदुरहरूले वीरगञ्ज महानगरपालिका, परवानीपुर गाउँपालिका, जीतपुरसिमरा उपमहानगरपालिका लगायतका स्थानीय तहले कवाडी करका नाममा अवैध ढङ्गले रकम उठाउँदा पनि स्थानीय प्रहरी प्रशासन मौन बसेको उहाँले बताउनुभयो ।मजदुर सङ्गठनले विरोधको कार्यक्रमबारे स्थानीय प्रशासनमा ज्ञापन पत्र बुझाए पनि ध्यानाकर्षण नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिने जनाएको छ । मजदुरहरूले जीतपुरसिमरा उपमहानगरपालिकाले पार्किङको व्यवस्थापन गर्न नसक्दा राजमार्गमा पार्किङ गर्न आफूहरू बाध्य भएको गुनासो गरेका छन् ।सोमवारको विरोध कार्यक्रममा भारतीय गाडी बन्द गर, मजदुर सङ्गठन जिन्दाबाद, ट्राफिक ज्यादती बन्द गर, नगरपालिकाको दादागिरी बन्द गर, चन्दा आतङ्क बन्द गर लगायतका नारा लगाइएको थियो ।

Leave a Reply