जनकपुर,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवमाथि सत्ता साझेदार दलहरुबाट नै राजिनामाको दबाब बढन थालेको छ ।अघिल्लो साता जनमत पार्टीबाट मन्त्री बनेकाहरुले राजिनामा दिएसंगै मुख्यमन्त्री सरोजकुमार यादवलाई आफ्नै गठबन्धनभित्रका सहयात्री दलहरुबाट मुख्यमन्त्री पदबाट राजिनामा दिनका लागि दबाब बढ्न थालेको हो ।
जनमत पार्टीका दुई मन्त्रीले माघ ११ मा प्रदेश सरकारबाट राजिनामा दिएसंगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादव प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ भने अर्कोतर्फ सत्तागठबन्धनका मुख्य सहायात्री दल नेपाली कांग्रेसका नेताहरुले मुख्यमन्त्रीमा दावी गर्दा सत्तारुढ जनता समाजवादी पार्टी नेपाललाई राजनीतिक दबाब सृजना भएको हो ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले १८ दिनमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ भने जनमतले छाडेको दुई मन्त्रालयमा पनि तत्कालै टुंगो लगाएर मन्त्री नियुक्त गर्नुपर्छ ।रिक्त दुई मन्त्रालयका लागि भागवण्डामा व्यस्त रहेका मुख्यमन्त्री यादवलाई कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्री पदमै दावी गरेपछि मुख्यमन्त्री सरोजकुमार यादब अप्ठ्यारोमा पर्नुभएको छ ।

जनमतका दुई मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा कांग्रेस र नेकपा माओवादी केन्द्रले दावी गर्दै आएका छन् भने कांग्रेसले मुख्यमन्त्री पदमै बार्गेनिंग गर्न थालेपछि विश्वासको मत लिनुअघि नै गठबन्धनभित्र खटपट उत्पन्न भएको छ ।नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवले सत्तासहयात्री दललाई बेवास्ता गर्दै जथाभावी निर्णयहरु गर्ने गरेको र गठबन्धन दललाईसमेत बेवास्ता गर्ने गरेकाले प्रदेश सरकारमा आलोपालोको प्रणालीका लागि सहमति हुनु आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले वैशाख १० मा बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएकाले अब मधेस सरकारको नेतृत्व कांग्रेसले पाउने सहमति भएको खुलाउनुभयो । उहाँले यसका लागि गठबन्धनमा समेत छलफल हुने बताउनुभयो ।
मुख्यमन्त्री पद संकटमा परेको भान पाएपछि मुख्यमन्त्री यादवले गठबन्धन दलका असन्तुष्ट नेताहरुसंग समेत भेटघाट तीव्र पार्नुभएको छ ।यसका लागि उहाँ सत्ता गठबन्धनका शीर्ष नेता भेट्न काठमाडौं पनि पुग्नुभएको छ । केन्द्रीय गठबन्धनसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगसमेत रिक्त मन्त्रालयको विषयमा कुराकानी गर्ने योजनामा मुख्यमन्त्री यादव लागि परेको स्रोतले बताएको छ ।

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुअघि नै गठबन्धन दल कांग्रेस, माओवादी, लोसपाले मन्त्रालयको भागवण्डा टुंग्याउनुपर्ने अडान लिएका छन् ।११ मन्त्रालयमध्ये हाल जसपाले मुख्यमन्त्रीसहित ३, कांग्रेसले ३, माओवादी केन्द्र १, लोसपा १ र नेकपा एकीकृत समाजवादीले १ मन्त्रालय सम्हालिरहेका छन् । जसपा भन्दा ४ जना प्रदेशसभा सदस्य बढी रहेका कांग्रेसले थप दुईवटा मन्त्रालयमा दावी गरेको छ ।

प्रदेशसभामा १०७ सदस्यमध्ये नेकपा एमाले २३, कांग्रेस २२, जसपा नेपाल १८, जनमत १३, माओवादी ९, लोसपा ९, एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् भने नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी १÷१ र २ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।मधेस प्रदेशमा जसपाभन्दा कांग्रेसको ४ जना प्रदशेसभा सदस्य बढी रहेकाले ठूलो पार्टीको दावी गर्दै मुख्यमन्त्री वा थप दुई मन्त्रालय पाउनुपर्ने दावी गर्नु स्वभाविक रहेको कांग्रेसका प्रदेशसभा सदस्य शेषनारायण यादवले बताउनुभयो ।

तर मुख्यमन्त्री यादव भने दुई मन्त्रालयमध्ये कांग्रेसलाई र माओवादीलाई थप १÷१ मन्त्रालय दिने मनस्थितिमा रहेको जसपा निकट एक नेताले बताए ।यता विश्वासको मत लिनका प्रदेशसभा बैठक आह्वान गर्ने विषयमा कुनै पनि कुराकानी नभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Leave a Reply