निजगढ,निजगढको गौरीशंकर क्याम्पसमा शिक्षकहरुको लागि आयोजना गरिएको ३ दिने ‘अनुसन्धान लेख लेखन’ तालिम आइतवार सम्पन्न भएको छ ।क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा तालिमका सहजकर्ता अञ्जयकुमार मिश्रा, गौरीशंकर क्याम्पसका प्रमुख राप्रसाद गौतम, अध्यापक टिकाराम भट्टराई, सिमरा कलेजकी सोनी कार्की, जनज्योति क्याम्पस चन्द्रपुरका यज्ञप्रसाद गौतम, क्याम्पस संचालक समितिका सदस्य रवि बर्तौलालगायतले तालिमको महत्वको बारेमा बोल्नुभएको थियो ।तालिममा निजगढ, सिमरा, चन्द्रपुर र सपही क्याम्पसका २२ जना प्राध्यापक र कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई अनुसन्धान लेख लेखन सीपका विभिन्न पक्षमा सिकाइएको थियो । सोही अवसरमा प्रशिक्षक मिश्रालाई अध्यक्ष एकबहादुर श्रेष्ठले मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।क्याम्पसले संचालन गरेको गुणस्तर सुनिश्चिता प्रत्यायन (क्यूएए) कार्यक्रम अन्तगत अध्यापन कार्यलाई प्रभावकारी तुल्याउन तालिमको आयोजना गरिएको बताइएको छ । समापन कार्यक्रमको संचालन गौरीशंकर क्याम्पसका प्राध्यापक सागर दहालले गर्नुभएको थियो ।



















