सफल खतिवडा
वीरगञ्ज, ८ भदौं :कुनै समय जीर्ण संरचना, उपकरण अभाव र व्यवस्थापकीय कमजोरीका कारण आलोचित बनेको वीरगञ्जस्थित नारायणी अस्पताल यतिखेर विस्तारै पुनः स्वस्थ हुँदै गएको छ ।
गत केही वर्षयता यहाँ नयाँ भवन निर्माण, आधुनिक सेवा विस्तार र प्राविधिक जनशक्ति अभिवृद्धिसँगै अस्पतालमा सकारात्मक परिवर्तन आएको छ ।
“नारायणी अस्पताललाई कुनै बेला बिरामीले उपचारको अन्तिम विकल्पका रूपमा मात्रै हेर्थे । तर अहिले परिस्थिति फेरिएको छ । क्यान्सर उपचारदेखि आकस्मिक सेवा, मातृ–शिशु स्वास्थ्य सेवा, शल्यक्रिया सुविधा लगायतका क्षेत्रमा उल्लेखनीय सुधार आएको छ । हाम्रो लक्ष्य अस्पताललाई क्षेत्रीय मात्र होइन, राष्ट्रिय स्तरमै विश्वसनीय स्वास्थ्य केन्द्रका रूपमा स्थापित गर्नु हो ।”
हालै मात्र स्टोर शाखाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ, जसले औषधि र उपकरण व्यवस्थित भण्डारणमा मद्दत गर्नेछ । त्यसैगरी क्यान्सर ओपिडी विस्तारसँगै बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता घटेको छ ।
अस्पताल प्रशासनका अनुसार आगामी दिनमा प्यालियटिभ केयर, अत्याधुनिक प्रयोगशाला र आईसीयू सेवा विस्तार समेत गर्ने तयारी भइरहेको छ ।
“नारायणी अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउने हाम्रो लक्ष्य हो । अघिल्ला चुनौतीहरूलाई अवसरमा बदल्दै सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउन हामी प्रतिबद्ध रहेको विकास समितीका अध्यक्ष धिरज कुमार गुप्ताको भनाई रहेको छ ।”
पाँच वर्षदेखि सर्वोच्च अदालतमा अड्किएको नारायणी अस्पतालको ५०० शैयाको भवन निर्माण सम्बन्धी मुद्दा अन्ततः निकास पाएको पनि अध्यक्ष गुप्ताले बताए । सर्वोच्चको फैसलाले वर्षौँदेखि अनिश्चिततामा अड्किएको भवन निर्माण प्रकृया अब नयाँ बाटोमा अघि बढ्नेछ । यस निर्णयप्रति स्वास्थ्यकर्मी, कर्मचारीदेखि वीरगञ्जबासीसम्म सबै खुसी भएका छन् ।
उनका अनुसार, “भवनका लागि हामी पाँच वर्षदेखि निरन्तर प्रयासरत थियौं । अब नयाँ भवन निर्माणको बाटो खुलेको छ ।”
सरकारले २०७४ सालमै नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै ५०० शैयाको पाँच तल्ले भवन बनाउन निर्णय गरेको थियो । २०७५ चैत १८ गते यसको लागि रु. १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ विनियोजन गरिएको थियो ।
तर २०७६ जेठ २ गते टेण्डर खोल्दा बंगलादेशको एक कम्पनी मात्र प्रतिस्पर्धामा आएपछि सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया रोकिएको थियो । विभाग र ठेकेदारबीचको विवाद अदालत पुगेपछि मुद्दा पटक–पटक सारिँदै ५ वर्षसम्म टुंगो लाग्न सकेको थिएन ।



















