पुष्पराज खतिवडा
मनहर्वा,बाराको कलैया उपमहानगरपालिकास्थित बालएकता इङ्गलिश बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा सञ्चालक रुपेश सर्राफको हत्या विवाहेत्तर प्रेमसम्बन्धका कारण भएको प्रहरीले पुष्टि गरेको छ ।हत्या घटना बारे जानकारी दिन बुधवार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुरेश काफलेले दुई छोराका बुबा समेत रहेका रुपेशको हत्या एक युवतीसंग विवाहेत्तर प्रेम सम्बन्धका कारण गरिएको पुष्टि भएको बताउनुभयो ।प्रहरी उपरीक्षक काफलेका अनुसार, रुपेशकै स्कुलमा पहिले लेखापाल पदमा कार्यरत कलैया वडा नम्बर ३ मदर्शा टोलकै २२ वर्षिया राधा गुप्ता र उनका अर्का प्रेमी भारत घर भएका मनोज गुप्ताले मिलेर गरेका हुन् ।राधाकै योजनामा प्रेमी मनोजले भारतबाट सुटरहरु बोलाएर रुपेशको हत्या गराएको प्रहरी उपरीक्षक काफलले बताउनुभयो । रुपेशलाई गोली हान्ने क्रममा भारतका चार जना सुटर र मनोज आफैं पनि प्रत्यक्ष संलग्न रहेको प्रहरीको भनाई छ ।दुई वटा मोटरसाइकलमा सवार भइ आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीयाका २५ वर्षिय सुजितकुमार सिंह, सोही ठाँउका २४ वर्षिय चञ्चल पाण्डे, २२ वर्षिय मनिष सहनी र २० वर्षिय कामेश्वर सहनीले मदर्शा टोलस्थित सडकमा रुपेशलाई गोली प्रहार गरेका थिए ।
हत्यामा संलग्न मुख्य योजनाकार मानिएकी राधासहित पाँच जनालाई पक्राउ गरि प्रहरीले उनीहरुलाई बुधवार सार्वजनिक पनि गरेको छ । अनुसन्धानको क्रममा पक्राउ परेका १० जनामध्ये घटनामा प्रहरीले ५ जनाको मात्रै संलग्नता फे पारेको हो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा कलैयाकी राधासहित सोही ठाउँ बस्ने ३४ वर्षिय जमील अख्तर, कलैया ९ रामपुरका २६ वर्षिय रियाज अन्सारी, भारत बिहारको घोडासहनको जगीराकोटीका २३ वर्षिय चन्दन कुमार र चन्दनकै छिमेकी गाँउका २३ वर्षिय अभिनव कुमार राजपुत रहेका छन् । तर घटनाका अर्का मुख्य अभियुक्त मनोज गुप्ता भने अझै फरार रहेको प्रहरीले बताएको छ ।तीमध्ये राधा हत्याको मुख्य योजनाकार हुन् भने जमील र रियाज सहयोगी तथा चन्दन र अभिनव सुटर ग्याङको सदस्य रहेको प्रहरी उपरीक्षक काफलेले बताउनुभयो । घटनास्थलबाट गोलीको चार थान खोका बरामद पनि भएको पत्रकार सम्मेलनमा प्रहरी उपरक्षिक काफलेले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक काफ्ले दिएको जानकारी अनुसार, राधा भारतीय नागरिक मनोजसंग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकी थिइन् । रुपेशको स्कुलमा काम गर्न थालेपछि उनी रुपेशसंग पनि नजिकिएकी थिइन् । यो कुरा थाहापाएपछि राधाका भारतीय प्रेमी मनोजले राधालाई स्कुल छाड्न दबाब दिनुका साथै स्कुलमै पटक पटक आएर राधासंग नजिक नहुन रुपेशलाई पनि धम्की दिदै आएका थिए । त्यहि विषयलाई लिएर रुपेश र मनोजबिच पटक पटक झगडा समेत भएको थियो ।राधा र रुपेशबीचको हिमचिमकै कारण यसअघि गत साउनमा पनि मनोजले रुपेशको हत्या गर्ने योजना बनाएका थिए । तर त्यसबेला रुपेशले भागेर ज्यान जोगाएका थिए । त्यसपछि पनि रुपेश र राधाको सम्बन्ध नटुटेपछि मनोजले एक पटक स्कुलमै पुगेर राधालाई कुटपिट पनि गरेको पनि प्रहरीको भनाई छ । त्यसपछि राधाले २०७९ साल बैशाखदेखि स्कुल छाडेकी हुन ।तर स्कुल छाडेपछि पनि रुपेशले राधासंगको सम्बन्ध नतोडेपछि राधाकै योजनामा मनोजले भारतबाट सुटरहरु बोलाएर गत सोमवार रुपेशको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफलेले बताउनुभयो । रुपेशको हत्या घटना बारे प्रारम्भिक चरणको अनुसन्धानमात्रै सकिएको भन्दै काफ्लेले प्रहरीले थप अनुसन्धान जारी राखेको बताउनुभयो ।
प्रहरी अनुसन्धान अपत्यारिलो  : परिवार
धिरेन्द्र तिवारी
कलैया,बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको घटना विवरण अपत्यारिलो भन्दै मृतकका परिवारका सदस्यहरुले त्यसप्रति असहमति जनाएका छन ।उनीहरुले अनुसन्धानको नाममा प्रहरीले सार्वजनिक गरेको घटनाको विवरणले आफूहरुलाई थप पीडा दिएको दुखेसो पनि गरेकाछन ।बारा प्रहरीको पत्रकार सम्मेलनपछि मृतकको परिवारका सदस्यहरुले सञ्चारकर्मीहरुसंगको कुरा गर्दै प्रहरीले चरित्र हत्या मात्रै गरिरहेको र प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरण विवादास्पद रहेको र त्यसमा सत्यता नभएको दाबी गरेका हुन ।मृतक सर्राफका दाइ भोला सर्राफले प्रहरीको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरु संगको कुराकानीमा भन्नुभयो, ‘हामी अहिले शोकमा परेका छौ, परिवारमा दुःखद घटना भएकाले सबै सदस्यमा पीडा छं, तर प्रहरीले दाबी गरेको रुपेशको प्रेम सम्बन्धको विषयमा कुनै सत्यता छैन । त्यो प्रहरीको पन्छिने चाल मात्रै हो ।’ ‘रुपेशको कसैसंग प्रेम सम्बन्ध थिएन । पुष्टि भयोे भने हामी सजाय भोग्न तयार छौं ।’ उहाँका अनुसार जबरजस्ती प्रेम सम्बन्धको कुरा देखाएर प्रहरीले घटनालाई अन्यत्रै मोड्ने प्रयास गरेको छ । ‘घटना के कारणले भएको परिवारका कसैलाई पनि जानकारी छैन, उहाँले .भन्नुभयो, हामी आफै अन्योलमा छौं ।’ उहाँले गलत विवरण दिएर परिवारको बदनाम नगराउन र घटनाको सत्यतथ्य अनुसन्धान गरेर्र सहयोग गर्न प्रहरीसंग आग्रह पनि गर्नुभएको छ ।उहाँले प्रहरीले नियन्त्रणमा लिएका मध्ये २ जना आफ्नै स्कुलका शिक्षक रहेको र उनीहरुको घटनामा कुनै संलग्नता नरहेको पनि बताउनुभयो । ‘संलग्नता नभएकाहरुलाई जबरजस्ती दोषी देखाएर सार्वजनिक गरेपछि प्रहरी अनुसन्धानमाथि विश्वास गर्ने ठाउँ छैन ।’हत्या आरोपमा पक्राउ परेका मध्ये रियाज अन्सारी र जामिल अन्सारी बालएकता स्कुलका शिक्षक हुन । भोलाका अनुसार दुबैको निर्दोष रहेको र गोली हानिएपछि उनीहरु अस्पताल पनि पुगेका थिए । उहाँले भन्नुभयो, ‘भाइको उपचार चलिरहँदासम्म उनीहरु हामीसंगै थिए, तर साँझमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो ।’

Leave a Reply