सिमरा,पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक शक्ति युवा क्लबले रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । बलियो टोली वीरगन्ज युनाइटेड क्लबलाई बुधबार सडनडेथमा पराजित गर्दै आयोजक अन्तिम दुईमा प्रवेश गरेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा पनि दुवै टोलीले ३–३ गोल गरेपछि नतिजा सडन डेथमार्फत निस्किएको हो ।
खेलको सुरुआतमै आयोजकले आक्रामक प्रदर्शन गर्दै अग्रता बनाएको थियो । चौथो मिनेटमा सुजन श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई अघि बढाए भने १०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर २–० बनाएपनि अग्रता जोगाउन सकेन ।
३६औं मिनेटमा वीरगन्ज युनाइटेडका युवराज खड्काले गोल गर्दै अग्रता घटाए । ५५औं मिनेटमा सागर चौधरीले बराबरी गोल गर्दै खेल २–२ को स्थितिमा पु¥याए ।
निर्धारित समय बराबरीमा सकिएपछि भएको टाईब्रेकरमा समेत दुबै टोलीले ३–३ गोल गरे । टाईब्रेकर समेत बराबरी भएपछि आयोजकले सडनडेथमा जित हात पारेको हो ।
आयोजकका गोलरक्षक रविन बस्नेत उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई वीरगन्ज महानगरपालिका २१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियारले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा निजगढ फुटबल क्लब र एन्फा मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ ।बैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

Leave a Reply