सिमरा,सामाजिक संजाल फेसबुक जीतपुरसिमराका शिक्षक ब्रम्हदेव पासवानको चर्चाले शनिवार बिहानैदेखि नै भरिएको छ ।सडक छेउमा निराश बनेर बसेको पासवानको तस्विर पोष्ट गर्दै अधिकांशले उहाँको न्यायका लागि अपिल गरिरहेका छन् ।चार दशकभन्दा बढी समयदेखि अध्यापन पेशामा आवद्ध शिक्षक पासवानलाई तत्काल न्याय दिलाउन जीतपुरसिमरा उपमहानगरपालिका र नगर प्रमुखलाई ध्यानाकर्षण गराउदै फेसबुकमा तस्वीर र सामग्री पोष्ट भईरहेको छ । उपमहानगरपालिकाले सरुवा गरेपछि पासवान पीडित भएको र तत्काल न्याय दिलाउनुपर्ने सामाजिक संजाल प्रयोगकर्ताहरुको माग छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले करिब एक महिनाअघि गरेको शिक्षक सरुवाको क्रममा पासवानलाई सिमराबाट जीतपुरसिमरा वडा नम्बर २४ को हरपुरस्थित विद्यालयमा पठाइएको थियो । उपमहानगरपालिकाले गरेको सरुवा अनुसार पासवान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट रमाना बुझेर हरपुरस्थित विद्यालय पुग्नुभएको थियो । तर हरपुरको विद्यालयले हाजिर नगराइएपछि पासवान अपलत्र पर्नुभएको हो ।२०३९ सालदेखि शिक्षण पेसामा आवद्ध पासवान एक महिनादेखि अलपत्र परेको खबर सामाजिक संजालमा आएलगत्तै उहाँको न्यायका लागि आवाज उठ्न सुरु भएको हो ।जागिरबाट अनिवार्य अवकाश प्राप्त गर्न २ वर्ष मात्र बाँकी रहेका पासवानलाई चाडपर्वको समयमा हाजिरविहिन अवस्थामा राखिनु दुःखद् रहेको भन्दै उपमहानगरपालिकाको कार्यालयले तत्काल पहल थाल्नुपर्ने माग उठिरहेको छ ।
Home स्थानीय समाचार विद्यालयले हाजिर नगराएपछि अलपत्र परेका शिक्षक पासवानको पक्षमा तात्यो सामाजिक सञ्जाल