बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ स्थित बगरे खोलामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल लामो समयदेखि उपभोक्तालाई हस्तान्तरण गरिएको छैन । निर्माण कम्पनी लामो समयदेखि बेपत्ता भएकोले पुलको हस्तान्तरण हुन नसकेको हो ।
२०७६ सालमा निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लिलादेबी लामिछाने खनालले संयुक्त रुपमा सिलान्यास गरेर पुलको निर्माण गरिएको थियो ।
निजगढको वडा नम्बर १० लाल खोला र निजगढ ३ को बगरे खोलामा एकपटक पुलको सिलान्यास निर्माण कार्य सुरु भएको थियो । एकपटक निर्माण सम्पन्न भएको लाल खोलाको निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरिएको १ वर्ष बितिसक्दा पनि सिंगौलको बगरे खोलाको पुल भने हालसम्म पनि हस्तान्तरण हुन नसकेको हो ।
११५ मिटर लम्बाइको सो पुल निजगढ नगरपालिका र हेल्भेटासको सहकार्यमा ९६ लाख ३४ हजार १ सय ८७ सतासी रुपैया २३ पैसा लागतमा स्थानीय उपभोक्ता समितिमार्फ निर्माण भएको हो । सोहि झोलुङ्गे पुल निर्माण गर्ने क्रममा साविक भरतगंज गाविस वडा नम्बर ९ मा रहेको सिँचाइ कुलो पुरिएको थियो । झोलुङ्गे पुल निर्माण र नयाँ ट्रयाक खोल्ने क्रममा चालु हालतमा रहेको सिँचाइ कुलो पुरिएपछि स्थानीय किसानले सिँचाइमा समस्या झेल्दै आएका छन ।
पुल निर्माण गर्ने कम्पनी र उपभोक्ता समितिले पुल निर्माण सम्पन्न भएपछि सिँचाई कुलो निर्माणमा चासो नदिदा किसानले समस्या बेहोर्दै आएका हुन ।
झोलुङ्गे पुल निर्माण भएर सन्चालनमा आएको लामो समय बितिसक्दा पनि पुल निर्माण समितिले सर्त बमोजिम कुलो नबनाएको स्थानीय किसानले बताएका छन । कुलो सरक्षण गरेर संचालनमा ल्याउनको लागि वडा सदस्य खडकबहादुर खुलाल लगायत स्थानीय विभिन्न पार्टीका नेता र समाजसेवीहरुलाई स्थानीयले पटकपटक आग्रह गर्दा कसैले पनि चासो नदिएको स्थानीय कालुराम मगरले बताउनु भएको छ ।
पुल निर्माण भएपछि वर्षादको समयमा बगरे खोलामा बाढी आउादा पनि सिंगौलको माथिल्लो सिमलचौर र छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ दमैचौर, तिनढुंगे, सरस्वती, थाकलचौरका स्थानीयलाई आवागमनमा भने सहज भएको छ ।