सिमरा,जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ ।सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिता बारे सोमबार आयोजक नवजनजागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।प्रतियोगितामा ५ ‘ए’ डिभिजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ । साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिता खेल्नेछन् ।प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अघिल्लो संस्करणबाट मूख्य प्रायोजकको रुपमा आएको जगदम्बा स्टिलले यस वर्षका लागि सम्झौता नवीकरण गरेको हो । प्रतियोगिताको व्यवस्थापनमा जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नवजनजागृति यूवा क्लबले जनाएको छ ।सूर्य नेपाल प्रा.लि.को मूख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता वृद्धि गरिएको क्लबले जनाएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्नेछन् ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि तथा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here