निजगढ,निजगढ र टाँगियाबस्तिमा हात्तीले खाएर किसानले लगाएको केराबाली नष्ट पारेको छ । निजगढ नगरपालिका वडा नम्बर ९ को नदीकट्टा र जीतपुरसिमरा वडा नम्बर १६ टाँगियाबस्तिमा जंगली हात्तीको बथानले खाएर ३ बिगाहा भन्दा बढी क्षेत्रको केराबाली नष्ट पारेको हो ।स्थानीयले दिएको जानकारीअनुसार शुक्रवार राति ९÷१० बजेको समयमा १०÷१२ वटाको समूहमा निजगढको नदीकट्टामा आएको हात्तीको बथानले नदीकट्टास्थित वडा नम्बर ९ का वडा सदस्य चित्रप्रसाद चौलागाई, राजकुमार पहरी, मोहन रानामगरको खेतमा लगाएको केराबाली खाएर नष्ट पारेको हो । हात्तीको बथानले थाम भाँचेर गुभो छानेर खाएको र किसानको २ बिगाहाभन्दा बढी क्षेत्रको केराबाली नष्ट गरेको स्थानीय मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले हात्तीले केही किसानको धानबाली पनि खाएर नष्ट पारेको जानकारी दिनुभएको छ । श्रेष्ठका अनुसार नदीकट्टामा रहेका बाक्यश्वर महादेव मन्दिरको बाटो हुदै खेतमा पसेको हात्ती राति नै गाउँ पूर्वको जंगलतर्फ लागेको थियो ।त्यसैगरी हात्तीको बथानले जीतपुरसिमरा टाँगियाबस्तिमा पनि बिहीवार राति धान र केराबालीमा क्षति गरेको छ । टाँगियाबस्तिबाट रमेश सापकोटाले दिएको जानकारीअनुसार हात्तीको बथानले बिहीवार राति स्थानीय सन्तबहादुर योन्जनको १ बिगाहा क्षेत्रमा लगाएको केरा र धानबाली खाएर नष्ट पारेको हो । हात्तीले केही दिनदेखि बस्तिमा पसेर किसानले लगाएको केरा र धानबाली खाएर क्षति पुर्याएको भएपनि नियन्त्रणको लागि डिभिजन वन कार्यालय सिमराले चासो नदेखाएको सापकोटाले गुनासो गर्नुभएको छ । टाँगियाबस्तिमा किसानको धान र केरा खाएर नष्ट पार्ने हात्तीको बथान नै भोलिपल्ट निजगढ आएको अनुमान गरिएको छ ।