पुष्पराज खतिवडा
मनहर्वा,बैंक र वित्तिय संस्थाहरुमा कृषि कर्जा लिन किसानलाई सहज नभएको बारा क्षेत्र नम्बर ३ ‘ख’ का प्रदेशसभा सदस्य पारस साहले बताउनु भएको छ ।
सोमबार कलैया उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १५औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभासद साहले बैंकहरु कृषक र कृषि पेसाप्रति गैह्जिम्मेवार रहेको बताउनु भयो ।
‘किसानले खेती गर्न, पशुपालन गर्न कर्जा माग्दा बाटोले छोएको मात्रै जमिन खोज्नु भनेको किसानलाई उपेक्षा गर्नु हो, उहाँले भन्नुभयो, जुन खेतमा खेती गर्नुछ, त्यही खेत लगेर धितो राखेर कर्जा माग्दा पनि बैंकहरुले बाटो भएकै खोज्नु भनेको गरिब र विपन्न किसानहरुलाई सुविधाबाट बन्चित गर्नु हो ।’
‘राज्यको सुविधा सबैले बराबरी पाउने अधिकार हुुनु पर्छ, उहाँले यस्तो व्यवस्थाको खारेजी गर्न माग गर्दछु ।’ भन्नुभयो । सरकारले हाल उपलब्ध गराउदै आएको आएको महिला, युवा, उद्यमी, शैक्षिक लगायतका विभिन्न सहुलियत कर्जा बैंकहरुबाट मात्रै नभइ सहकारी संस्थाहरुमार्फत पनि दिने व्यवस्था गरिनु पर्ने उहाँले माग गर्नु भयो । ‘ठूला बैंक र वित्तिय संस्थाहरुमा सर्वसाधारणको पहुँच पुग्दैन, उहाँले भन्नुभयो, त्यसैले सर्वसाधारणको सहज पहुँच रहेको ग्रामीण क्षेत्रमा संचालित सहकारीहरुमार्फत सरकारी सहुलियत कर्जा परिचालनको व्यवस्था गरिनु पर्छ ।’
कार्यक्रममा प्रदेश नम्बर २ तदर्थ प्रादेशिक कृषि सहकारी संघ लिमिटेडका सचिव एवं कलैया उपमहानगरपालिका वडा नम्बर– २२ का वडा अध्यक्ष पुनदेवप्रसाद रौनियार, साना किसान कृषि संघ लिमिटेड बाराका अध्यक्ष मिश्रलाल सहनी, कलैया उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष लालबाबु यादव, साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुरका अध्यक्ष कन्हायीलाल थारु, मनहर्वाकी अध्यक्ष नयनकला खड्का साविक भोडाहा गाविसका पूर्वजनप्रतिनिधि भुवाली साह, शिव विहारी चौधरी लगायतले बोल्नुभएको थियो ।
७ सय ६८ जना सदस्यहरुबीच सवा १३ करोडको कारोबार गरेको संस्थाले आब २०७७।०७८मा कमाएको मुनाफाबाट शेयरधनी सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने सभाबाट गरेको छ ।
संस्थाले साधारण सभाको अवसर पारेर विभिन्न विधामा आधा दर्जन मानिसलाई सम्मानसमेत गरेको छ । यसैक्रममा सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडालाई समेत पत्रकारिताका माध्यमबाट सहकारी अभियानको विकासमा उल्लेखनीय योगदान गरेको भन्दै कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष विन्दासिंह राजपुतको अध्यक्षता भएको सो कार्यक्रम संस्थाका प्रबन्धक नगिनाप्रसाद साहले संचालनमा गुर्न भएको थियो ।