रौतहट,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तत्काल गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।रौतहटको गौरमा शनिवार भएको ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले समेत निजगढ विमानस्थल अनिवार्य रहेको बताउनुभयो । उहाँले निजगढ–काठमाडौँ ‘फास्ट ट्र्याक’ को निर्माणका साथसाथै विमानस्थल निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल–भारतको सीमा समस्या समाधान गर्न केन्द्रीय स्तरबाट नीति निर्माण आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय जनप्रतिनिधिहरूले आफ्नो तर्फबाट आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । “सीमा समस्या समाधानका लागि जुनसुकै बेला सहयोग गर्न तत्पर छु ।” उहाँले भन्नुभयो ।कार्यक्रममा मधेस प्रदेशसभा सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले आआफ्नो धारणा राखेका थिए।

मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरीराय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सीमा क्षेत्रमा बस्ने नेपाल–भारतका नागरिकहरूले भोग्दै आएका समस्याहरूको समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नेपाल तथा भारतका सञ्चारकर्मी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनीका प्रतिनिधिहरू र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply