वीरगन्ज,वीरगन्ज महानगरपालिकाले रजतजयन्ति चोकदेखि बाइपास सडक क्षेत्रमा सडक पेटीमा राखेका निर्माण सामग्री तथा संरचना हटाएको छ ।आइतबार बिहान महानगरका मेयर राजेशमान सिंह आफैँ उपस्थित भएर सडक पेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै सडक पेटी अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिनुभएको हो ।सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन अहिले दैनिक अभियान चलाउदै आएको छ ।अव्यवस्थित पार्किङ हटाउन महानगरले बजार क्षेत्रको विभिन्न स्थानमा निश्चित पार्किङको व्यवस्था मिलाइसकेको छ । त्यसैगरी फलफुल बजार र ठेला व्यवसायलाई पनि व्यवस्थित गर्न महानगरले काम अघि बढाएको छ ।फुटपाथ अतिक्रमण गरेर राखेको बालुवा गिटी जन्य निर्माण सामग्री तथा अतिक्रमण गरेर बनाइएका संरचनाले बजार कुरुप बनेको थियो । वीरगन्जलाई हराभरा र सुन्दर बनाउन अभियान चलाउनु परेको महानगरका सरसफाइ तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताउनुभयो ।फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि मेयर सिंहसहित वीरगन्ज महानगरपालिकाका सरसफाइ प्रमुख सरफुद्धिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुषाल, महानगरको सरसफाइ तथा वृक्षारोपण संयोजक प्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।
















