कलैया,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सिम्रौनगढ नगरपालिका वडा नम्बर– ८ स्थित जनता माध्यमिक विद्यालयकोे भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।प्रवक्ता दाहालका अनुसार मरासिनी र चौधरीसहित जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो ।प्रमुख प्रशासकीय अधिकृत मरासिनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको र निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ । उनीहरूविरुद्ध जनही ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो दाबीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ ।यस्तै, भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव रमाकान्ता र कोषाध्यक्ष किरणले उपभोक्ता समितिको बैङ्क खाता सञ्चालन गरेको एवम् नगरपालिकासँग भएको सम्झौताबमोजिमको सर्त पालना नगरी भुक्तानीको लागि स्वीकृत भएकोभन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रकम ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । उनीहरूविरुद्ध पनि सोही रकम बराबरको बिगो दाबीसहित सजाय माग गरिएको छ ।