कलैया,बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले सडक निर्माण गराउन आमरण अनशनमा बस्ने चेतावनी दिनुभएको छ ।आफ्नो कार्यकक्षमा बिहीवार पत्रकार सम्मेलन गरी नगर प्रमुख साहले मानवत– मटिअर्वा सडक खण्ड अन्तर्गतको कलैया नगर क्षेत्रभित्र पर्ने सडक निर्माण कार्य एक हप्तामा शुरु नगरिए आफू भरतचौकमा आमरण अनशनमा बस्ने चेतावनी दिनुभएको हो ।
उहाँले बाटो निर्माण कार्य अधुरो छोडेर ठेकेदार सम्पर्कविहीन भएका कारण जनताले सास्ती भोग्नु परेकाले बाटो निर्माण गराउन आफूले आमरण अनशनमा बस्ने घोषणा गरेको बताउनुभयो ।बाटो निर्माणकालागि संघीय सांसदहरूले पनि कुनै चासो नदिएको गुनासो नगर प्रमुख साहले गर्नुभयो । आफूले पटकपटक मन्त्रालयसम्म दबाब दिएपनि बाटो निर्माणको काम अघि नबढेकोले र फेरि पनि अबको ७ दिनभित्र त्यसको निक्र्यौल निकाल्नेतर्फ आफू लागिरहेको उहाँको भनाई छ ।अबको एक हप्तामा निर्माण कार्य शुरु नगरिए आमरण अनशनमा बस्छु नगर प्रमुख साहले भन्नुभएको छ । मानवत–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैया नगर क्षेत्रमा बाँकी रहेको ३ किलोमिटर सडक निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण अवरोध हुदैआएको छ ।

















