निजगढ,निजगढ हाट बजारमा एक महिलाको घाटीबाट सुनको सिक्री चोर्दै गरेको अवस्थामा आइतवार एक जना चोर पक्राउ परेका छन ।हाट बजारमा सामान खरिद गर्न गएकी निजगढ नगरपालिका वडा नं ९ लच्का निवासी दिलकुमारी मोक्तानको १ तोलाको सुनको सिक्री चोर्ने क्रममा वीरगञ्ज महानगरपालिका ३२ टेडा घर भएका अन्दाजी १५ वर्षका विकास राय यादबलाई इलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाइएका हो । घाटीको सिक्री फुकाल्दै गरेको थाहा पाएपछि आफूले चोरलाई समातेर स्थानीयको मद्दतमा प्रहरीलाई बुझाएको मोक्तानले बताउनुभयो ।हाट बजारमा भिडभाडको मौका छोपेर बालकले महिलाको सुनको सिक्री चोरेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय निजगढका प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । केही हप्ता अगाडि कृष्ण अष्ठमीको दिन पनि निजगढ ७ न्यौपाने टोल निवासी गिता माझीको पनि हाट बजार बाटै १ तोलाको सुनको सिक्री चोरी भएको थियो ।यसैबीच चोरीका समान सहित बाराको महागढीमाई नगरपालिकाका ६ जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० देखि १४ वर्षका किशोर रहेको प्रहरीले जनाएको छ ।जिल्लाको महागढीमाई नगरपालिका ५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिवार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट सुनको सिक्री १ थान, सिक्का १४ थान, ढिका १ थान, औँठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र चाँदीको पाएल १३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।