वीरगञ्ज,नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ठोरी गाउँपालिकाको उद्यम विकास भवनको शनिवार उद्घाटन गर्नुभएको छ ।ठोरी गाउँपालिकाद्वारा शनिवार आयोजित एक विशेष समारोहका बीच मन्त्री रिजालले रिवन काट्दै शिलालेख सहितको भवनको उद्घाटन गर्नु भएको हो ।ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा गाउँपालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले स्वागत मन्तव्य राख्दै ठोरी गाउँपालिकाका समस्याहरू, केन्द्र सरकारप्रति ठोरी गाउँपालिकाको अपेक्षा, उद्योग मन्त्रीबाट आशा राखिएका विभिन्न विकास निर्माणका विषयहरु उजागर गर्दै ठोरी सरकार प्रदेश र केन्द्र सरकारसंग हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।जवाफमा मन्त्री रिजालले ठोरीका समस्या समाधान गर्न आफू संधै तत्पर रहेको बताउदै आफू यहि क्षेत्रबाट निर्वाचित सांसद समेत भएकाले यी समस्याहरुको समाधान गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । जुनसुकै राजनीतिक दलबाट विजयी भएपनि जनप्रतिनिधिको आम दायित्व आफुले नबिर्सने बताउदै मन्त्री रिजालले ठोरी पलिका सरकारसंग समन्वय गरेर अघि बढ्न आफू तयार रहेको बताउनुभयो ।विशेष गरि ठोरी गाउँपालिका वडा नम्बर ४ का अधिकांश जनताले आफ्नो जग्गाको लालपुर्जा नपाएको प्रसंग उल्लेख गर्दै गाउँपालिका अध्यक्षले ठोरीका जनताको धनीपुर्जाको सम्पुर्ण प्रक्रिया पूरा भएर पनि लालपुर्जा प्राप्त नभएकाले केन्द्रीय सरकारले विशेष सहयोग गर्न मन्त्री रिजाललाई आग्रह गर्नुभयो ।२०४८ सालदेखि आफू र मन्त्री रिजालसंगसंगै राजनीतिमा आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यो अवसरमा जनताले लालपुर्जा पाउनै पर्ने अवस्थामा केन्द्रको सहयोगको खाँचो रहेको बताउनुभयो ।कार्यक्रममा मन्त्री रिजाललाई गाउँपालिकाले विशेष स्वागत गरेको थियो । कार्यक्रममा मधेस प्रदेशका विधायक शंकर चौधरी, नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य ठाकुर न्यौपाने, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापती सन्तोष श्रेष्ठ, ठोरीका जनप्रतिनिधिहरु, गापाका कर्मचारी एवं स्थानीयबासीको उपस्थिति रहेको थियो ।हेम चापागाईंले सहजीकरण गरेको कार्यक्रममा ठोरीका ५ वटै वडाका उत्कृष्ट स्वयमसेविकाहरुलाई सम्मान गरिएको थियो ।


















