सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा एंव तेस्रो अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।तेस्रो अधिवेशनबाट कमला रिमाल अधिकारी पुनः सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनुभएको छ । संस्थाकी अध्यक्ष रिमालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको प्रमुख अतिथि बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ रहनुभएको थियो ।कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संविधानसभा सदस्य जयप्रकाश यादव, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, महिला नेतृ निरू रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोषाध्यक्ष पुनमदेवी महतोले संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै २०७९–२०८० मा संस्थाको नाफा ७३ लाख ४७ हजार १२९ रहेको बताउनुभएको थियो ।साना किसान कृषि सहकारी संस्था सिमरा २०७३ मा ४३ जना सेयर सदस्यहरूको ४३ सय पुजीबाट सुरू भएको थियो ।त्यसैगरी संस्थाको तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष लक्ष्मी बस्नेत, उपाध्यक्षमा श्यामा सापकोटा, सचिवमा मिरा पुरी, कोषाध्यक्षमा पुनम देबी महतो, सदस्यमा ज्योति देबी, लक्ष्मी पाण्डे, केशव थापा, अर्बिन्द साह, सुमित्रा ढकाल, ईन्दिरा दहाल, पार्वती फुजेल र कोपिला लामिछाने सर्वसम्मतरूपमा चयन भएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य श्रेष्ठले संस्थाको भवन निर्माणका लागि आफुले पहल गरेर प्रदेश सरकार र संघबाट ६५ लाख रकम उपलब्ध गराएको जानकारी गराउनुभएको थियो ।