निजगढ,निजगढमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । नगरका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।निरन्तर एक साता परेर पानीले मौसम परिवर्तन भएपछि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारको लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को सङ्क्रमण देखिएको छ । घिमिरेले त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको पनि बताउनुभयो ।दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो सङ्क्रमण भएका बिरामी उपचारका लागि आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र निजगढले जानकारी दिएको छ । ज्वरोबाट बालबालिका बढी प्रभावित बनेका छन ।