२०८२ सालको हरितालिका अथवा तीज आज । आज दिनभर निरहार नेपाली चेलीहरु ब्रत बस्ने प्रचलन रहदै आएको छ । हिन्दू महिलाहरुले पहिला पहिला मनाउने यो पर्व आजकल सबै महिलाहरुले मनाउने गर्दछन् । हिजोआज तीजले प्रायः सबैलाई छोएको पाइन्छ ।

तीजमा खासगरी श्रीमानको दीर्घायु एवं आफ्नो अटल सौभाग्यको मनोकामनाका साथ र अविवाहित युवतीहरु असल जीवनसाथीको कामना गर्दै ब्रत बस्ने, पूजा आराधना गर्ने प्रचलन छ ।तीजको अघिल्लो दिन सम्भव हुनेहरु माइतीमा जम्मा भएर मीठो मसिनो खाने, सम्भव नहुने दिदीबहिनीहरु  एक ठाउँमा जम्मा भएर दर खाएर तीजको स्वागत गर्ने परम्परा छ । तीजको सांस्कृतिक पक्षले के महिला, के पुरुष सबैलाई आकर्षिक गर्छ । तीज पर्वमा महिलाहरुले तीज गीतका माध्यमबाट आफूले भोग्दै आएका पीडा, वेदना र महिला अधिकारका आवाज गुञ्जाउँदै आएको पाइन्छ ।

धार्मिक प्रचलन अनुसार हिमालयकी छोरी पार्वतीले आफूले चाहेको बर पाउनका लागि गरेको कठोर तपस्याको पौराणिक कथा हामीले सुन्दै आएका छौं । तर समाजको सृष्टिकालमा हेर्ने हो भने यस्ता परम्पराहरु देखिदैनन् ।यस कालमा पनि महिला र पुरुषको समान महत्व रहेको पाइन्छ । अझ भन्ने हो भने आदिमकाल मातृ सत्तामक थियो । शासन र सम्पत्तिमा महिलाहरुको उच्च स्थान थियो । जब निजी सम्पतिको शुरुवात भयो, त्यसपछि महिलाहरुमाथि भेदभाव र उत्पीडन प्रारम्भ भएको हो ।

धर्म, संस्कार र विभिन्न नाममा महिलालाई सीमान्तकृत बनाउँदै लगियो । यो काममा सबैभन्दा बलियो हतियारका रुपमा धर्मलाई प्रयोग गरियो ।अहिले तीजको धार्मिक सांस्कृतिक पक्षभन्दा फरक खालका प्रवृत्तिहरु देखिन थालेका छन् । तीज भड्किलो बन्दै गएको, तीजको नाममा विभिन्न विकृतिहरु भित्रिदै गएकोमा चिन्ता पनि देखिन थालेको छ । तीज पर्वसँग जोडिएको दर खाने नाममा महिनौं अगाडिदेखि भोज भतेर गर्ने, फजुल खर्च र भड्किलो व्यवहार प्रदर्शन गर्ने अवसरका रुपमा तीज मनाउन थालिएकोमा चिन्ता प्रकट हुन थालेको छ । अझ होटल र रेष्टुरेण्टमा तीज मनाएर महंगो खाने पिउने प्रवृत्ति बढ्दै गएको छ । आधुनिकतासँगै भित्रिएका उच्छृंखल गीत, नृत्य र बजारीकरणले तीजको मौलिकतामाथि नै प्रहार गरिरहेको महसुस हुन्छ । यही चिन्ता र चासोले तीजको नाममा भित्रिएका विकृति विसंगति हटाउन सकियोस् भन्ने हामी सबैको कामना हुनुपर्छ ।

सांस्कृतिक पक्ष अत्यन्तै उच्च रहेको तीज पर्वको मौलिकता बचाउन समाजका अगुवाहरु नै अगाडि सर्नुपर्ने आवश्यकता छ ।त्यसो त फेरि यसैका कारण पनि तीजको रौनक बढेको देख्नेहरु पनि छन् । जे भएपनि तीज पर्व २०८२ को अवसरमा मुख्यत ः सम्पूर्ण दिदी बहिनीहरु तथा आमाहरुमा हार्दिक शुभकामना ।

 

Leave a Reply