रौतहट,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा ग्यास बोकेको बुलेट ट्याङ्कर सडकमै पल्टिएपछि आज बिहानबाट राजमार्ग अबरुद्ध बनेको छ ।
ट्याङ्करमा ग्यास भरिएकाले उठाउन कठिन हुनुका साथै ग्यास चुहिएको आशङ्का भएपछि पन्छाउन नसक्दा बिहान ७ बजेदेखि सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिनुभयो ।
बुलेटबाट ग्यास चुहिएको आशङ्कामा विज्ञहरूले परीक्षण गर्नुका साथै ६ वटा क्रेन प्रयोग गरेर हटाउने प्रयास भए पनि सम्भव भएको छैन ।

भारतबाट वीरगञ्ज नाका हुँदै पूर्वतर्फ गुडिरहेको भारतीय नम्बर प्लेटको एलपी ग्यास लोड बुलेट ट्रक बिहान साढे ७ बजे अनियन्त्रित भइ सडकको बीच भागमै पल्टिएको थियो ।सडकमै ग्यास बुलेट पल्टिएकाले बिहानदेखि राजमार्ग दुईतर्फी अवरोध भएको छ । अहिले केही गाडी नहरको कच्चीबाट हुदै धन्सार जंगलशैया सडकबाट पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिक निस्किएर आवतजावत गरिरहेका छन् ।ग्यास लिक नियन्त्रण र ट्यांकर हटाएपछि मात्र सडक खुल्ने जनाइएको छ । यसको लागि थप समय लाग्ने बताइएको छ ।
ट्यांकर नहटाउदासम्म यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा घटनास्थल नजिक नजान ट्राफिक प्रहरीले आग्रह गरेको छ ।भारतको रक्सौलबाट एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको ट्यांकर दुर्घटनामा परेको हो । दुर्घटनामा ट्यांकर चालक भारतको जयनगर थाना अन्तर्गत कदोरा निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
ट्यांकर पल्टिएपछि ग्यास लिक हुन थालेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले राजमार्गको दुवैतर्फ सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको हो । सुरक्षाका लागि प्रहरी तथा सम्बन्धित निकायको टोली घटनास्थलमा खटिएको छ भने ग्यास लिक अझै नियन्त्रणमा आउन सकेको छैन ।पल्टिएको बुलेटलाई खाली गर्न पछाडि रहेको भल्ब खोलेर ग्यास निकासी गर्ने तयारी गरिए पनि दुर्घटनास्थल नजिकै रहेको ३३ केभी तथा हाईटेन्सन लाइनको विद्युत प्रवाहा समयमै काट्न नसक्दा उद्धार तथा व्यवस्थापन कार्यमा थप कठिनाइ उत्पन्न भएको प्रहरीले जनाएको छ ।


















