निजगढ,बाराको पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनमाथि भएको आक्रमणको चौतर्फी विरोध सुरु भएको छ ।निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले सोमवार एक विज्ञप्ति जारी गर्दै आक्रमणको घटनामा विरोध जनाउनुभएको हो । उहाँले आक्रमणको घटनाको खबरले आफूलाई स्तब्ध बनाएको विज्ञप्तिमार्फत जनाउनुभएको छ ।विज्ञप्तिमा दोषीलाई यथाशिघ्र कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न स्थानीय प्रशासन एवं नेपाल सरकारसँग माग गरिएको छ ।त्यसैगरी नेपाल नगरपालिका संघले पनि विज्ञप्ति निकालेर घटनाले स्तव्ध बनाएको उल्लेख गरेको छ । संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । यस्ता घटनाले जनप्रतिनिधिको मनोबल गिराउने भन्दै विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरिएको छ ।यसअघि एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पनि सामाजिक सन्जालमार्फत घटनाको निन्दा गर्दै दोषिमाथि कडा कारबाहीको माग गर्नुभएको थियो ।उपप्रमुख खातुनको घरमा शनिवार राती पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणमा परेर खातुनसहित उहाँका श्रीमान नेवाजी अन्सारी र अर्का एक छिमेकी कन्हैया साह घाइते भएका थिए । उपप्रमुख खातुनको अवस्था सामान्य भएपनि श्रीमान नेवाजी र साहको अवस्था गंम्भीर छ र उनीहरुको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पचरौता नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी यादवले दिएको जानकारी अनुसार साहको आक्रमणमा परेर साहको मेरुदण्डको ३ वटा हड्डी भाच्चिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here