वीरगञ्ज,एमबिबिएस अध्ययन गर्न जाने क्रममा शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा नेपाल प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘‘अपरेसन चार्ली फक्सट्रोट’ मा एमबिबिएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले उनीहरुलाई पक्राउ गरी शुक्रवार राति सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीय एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीय श्रद्धा शिल्पकार, काठमाडौँका २८ वर्षीय पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिराहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन् ।सीआइबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले शैक्षिक योग्यतामा अङ्क वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी अनुसन्धान गरेको हो । पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

Leave a Reply