बारा,नेकपा एमाले र जसपा बाराको संयुक्त कार्यदलले जिल्लाको पचरौता नगरपालिकामा मेयर जालन्धर सिंह र पूर्वमेयर रमेश यादवलाई क्षेत्र नम्बर २ मा दुई पार्टीबीच भएको तालमेल सफल पार्ने भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।
कार्यदलको तर्फबाट नेकपा एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले बिहीवार पत्र पठाएर मेयर सिंह र पूर्वमेयर यादवलाई तालमेलका उम्म्ेदवारहरुलाई विजयी तुल्याउने कार्यमा लाग्न पत्राचार गर्नुभएको हो । सिंह एमालेबाट निर्वाचित हुनुभएको हो भने पूर्वमेयर यादव जसपाबाट निर्वाचित हुनुभएको थियो ।
केन्द्रमा दुई दलको सहमतिअनुसार सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा जसपाका रामसहाय यादव उम्मेदवार बन्नुभएको छ । त्यसैगरी प्रदेश सभा क मा एमालेका बलवीर चौधरी र ख मा जसपाका बच्चा यादव उम्मेदवार हुनुुहुन्छ । तर पचरौतामा नेकपा एमाले र जसपाका कार्यकर्ताबीचको आपसी विवादले दुबै पक्षका मतदाताहरु स्वतन्त्र उम्मेदवारलाई भोट हाल्ने तयारीमा रहेका छन ।
एमाले अध्यक्ष साहको हस्ताक्षरमा पठाइएको पत्रमा पचरौता नगरपालिकामा दुई दलबीच देखिएको विवाद समाधान गर्ने बारेमा पनि सहमति भएकोले केन्द्रीय सहमति सफल पार्ने गरी काम गर्न निर्देशन गरिएको छ ।
कार्यपालिकामा बहुमतमा रहेको जसपाले नेकपा एमालेबाट निर्वाचित मेयर सिंहलाई काम गर्न अवरोध गर्दै आएको भन्दै एमाले पक्ष जसपासंग असन्तुष्ट बनेको थियो ।
मेयर सिंहले बैठकले स्थानीय रुपमा रहेको समस्या समाधान गर्ने बारेमा ठोस सहमति गर्न नसकेको भए पनि आफूले कार्यदलको निर्देशन अनुसार नै तालमेलमा रहेका दलका उम्म्ेदवारहरुलाई मतदान गर्ने बताउनुभएको छ ।