नरेश गुप्ता
बरियारपुर,फोटो खिचेको निहुँमा भारतीय एसएसबीका जवानले बाराका एक नेपाली युवकलाई कुटपिट गरेका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिर्वा निवासी वर्ष २३ का सजिल मियालाई एसएसबी जवानले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने आदापुरमा कुटपिट गरि घाइते बनाएका हुन ।
घटनाको विरोधमा मटिअर्वा सीमा नाकामा मंगलबार दिनभरि नै स्थानीयले प्रदर्शन गरेका छन । जुत्ता किन्न भनेर भारतीय बजार आदापुर पुगेका मियामाथि मोबाइलबाट फोटो खिचेको निहुँमा कुटपिट भएको थियो ।
आदापुर बजारस्थित एक पसलले र एसएसबीबीच विवाद भइरहेको अवस्थामा मियाले फोटो खिचेपछि एसएसबीका जवानहरुले फोटो खिचेको भन्दै कुटपिट गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
भारतीय एसएसबीको कुटाइबाट घाइते मियालाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । घटनाको विरोधमा दोषि भारतीय सुरक्षाकर्मीमाथि कारबाहीको माग गर्दै घाइते मियाका आफन्तले मटिर्वा सीमा नाका केहीबेर बन्द गराएका थिए ।
सिमानाकामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन सिमा सुरक्षा बल १२ नम्बर गणका डिएसपी ध्रुब खडका र नेपाल प्रहरीको टोली सीमा क्षेत्रमा परिचालन गरिएको थियो । मटिअर्वाको अवस्था समान्य बनाउन नेपाल भारत दुबै देशका उच्चअधिकारीहरुबीच मंगलबार दिउसो छलफल भएको थियो ।
भारतीय एसएसबीका जवानलाई विभागीय कारबाही गर्ने तथा घाइते मियाको उपचार खर्च भारतीय पक्षले बेहोर्ने सहमति भएको बाराका प्रजिअ कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
घाइते मियाको शरीरमा गम्भीर चोट लागेको स्थानीयहरुले बताएका छन् । उनलाई थप उपचारका लागि वीरगन्जस्थित नरायणी अस्पतालमा लगिएको छ । घाइतेका परिवार र आफन्तजनले अनाहकमा आफ्ना मान्छेलाई कुटपिट गरेको भन्दै दोषि एसएसबीका जवानमाथि कारबाहीको माग गर्दै मटिअर्वा नाकाको मुलगेट बन्द गरेर प्रर्दशन गरेका हुन ।
भारतीय एसएसबीका जवानले भारतीय बजारमा किनमेल गर्न पुगेका नेपाली नागरिकहरुलाई विभिन्न बहानामा यसअघि पनि पटकपटक कुटपिट गर्ने र भारतीय बजारबाट समान किनेर ल्याउने क्रममा दुख दिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन ।