निजगढ वडा नम्बर ६ मा आगामी माघ २१ गतेबाट हुन लागेको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८१ सफल पार्न स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।महोत्सव तयारीको अन्तिम तयारीमा रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल र श्रीकृष्ण प्रणामी मन्दिर निजगढले आज मन्दिर परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा संविधानसभा सदस्य एंव पूर्वमन्त्री पुरुषोत्तम पौडेल, मधेस प्रदेश सभा सदस्य मिना लामा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार अच्युत मैनाली, नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सन्तोष दङ्गाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाललगायतले यस्तो प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार बुढाथोकीले महोत्सवमा अतिथिहरुको लागि २ खानाको खर्चबापत १ लाख १ हजार सहयोग गर्ने जनाउनुभयो । त्यसैगरी संबिधान सभाका सदस्य पौडेल, अन्य उम्मेदवारहरु, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुले पनि समितिसंग सल्लाहा गरेर आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।
कार्यक्रममा निजगढका नगर प्रमुख सुरत पुरी, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा, वडा नम्बर ६ का घनश्याम तिमल्सिना, ७ का वडा अध्यक्ष टेकबहादुर लामा र वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाललगायतको उपस्थिति रहेको थियो ।त्यसैगरी कार्यक्रममा निजगढ नगरपालिकाका पूर्वमेयर सुरेश खनाल, साविक निजगढ गाविसका अध्यक्ष एकबहादुर श्रेष्ठ, नेपाली काग्रेसका निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा एमालेका सचिव थानेश्वर सापकोटा, राप्रपा नगर अध्यक्ष केशव राउतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण बजगाईलगायत सेवा समितिका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । मुल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले महोत्सवको अपनत्व लिएर कार्यक्रम सफल पार्न सहभागीहरुसंग आग्रह गर्नुभएको थियो ।उहाँले महोत्सव तयारीको क्रममा संरचना निर्माण, मन्दिर सजावट, बालपार्क, अतिथिहरुको लागि आवास, भोजन, प्रचारप्रशारलगायत तयारीको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको जानकारी दिनुभयो । उहाँले निजगढको पहिचान, गौरव र धार्मिक पर्यटकीय क्षेत्रहरुको विकास गर्न धर्म महोत्सवले मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक साहित्यचार्य जनार्दनले पनि अन्तर्राष्ट्रिय स्तरको महोत्सव आयोजना हुनु निजगढबासीको लागि गौरवको विषय भएको र यसलाई भव्यताका सफल पार्न सबैसंग आग्रह गर्नुभएको थियो ।
आगामी माघ २१ देखि २७ गतेसम्म हुन लागेको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव तथा श्रीमततारम सागर १०८ पारायण, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा देशविदेशमा ख्यातिप्राप्त दर्जनौं विद्धान तथा विदुषि र हजारौ श्रद्धालुहरु सहभागी हुने जनाइएको छ ।
महोत्सव उद्धाटनको दिन बिहान विशाल र भव्य कलश शोभा यात्रा निकालिने र माघ १० गते प्रचार प्रसारको लागि निजगढ र अन्य पालिकाहरुमा पोस्टर पंप्लेटीङ्ग, माघ १६ गते पत्रकार सम्मेलन र २० गते बिहान ९ बजे मोटरसाइकल ¥याली आयोजना गरिएको पनि जानकारी गराइएको थियो ।
महोत्सव अन्तर्गत प्रतेक दिन ५ बजेदेखि ६ बजेसम्मः मङ्गलारती (प्रातकालीन सेवा), बिहान ६ बजे देखि ७ः३० सम्म योग, ध्यान, चितवनी, बिहान ७ः ३० बजेदेखि ९ः०० सम्म वाणी चर्चा÷आर्शीवचन, बिहान ९ बजेदेखि ९ः३० सम्म अल्पआहर, बिहान ९ः३० बजेदेखि १०ः१५ सम्म सेवा पूजा मंगलाचरण, पुष्पाञ्जली, पाठपारायण प्रारम्भ, बिहान १०ः१५ बजेदेखि १२.१५ बजेसम्म वाणी चर्चा, दिउसो १ः१५ बजेदेखि २ बजेसम्म सन्तमहन्त तथा आगन्तुक अतिथिहरुको शुभभाव प्रवचन, दिउसो २ बजेदेखि ४ बजेसम्म श्रीमद् भागवत कथा वाचन हुने छ ।त्यसैगरी दिउसो ४ बजेदेखि ४ बजेसम्म सम्मान, दिउसो ४ः३० बजे आरती तथा प्रसाद वितरण, साँझ ६ बजेदेखि ७ सम्म सन्ध्या आरती, राति ८ बजेदेखि १० बजेसम्म भजन, कीर्तन, प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यतालिका रहेको सो अवसरमा जनाइएको थियो ।चियापान कार्यक्रमको सहजीकरण मूल समारोह समितिका महासचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।

















