कलैया,बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको बसवरिया गाउँसित जोडिएका भारतीय गाउँ झरोखर–आमवा सडक खण्डको महादेव मन्दिर नजिक स्थानीय र प्रहरीबीचको झडपमा परी भारतीय प्रहरीका सहयोगीको मृत्यु भएपछि बाराको सीमा नाकामा आउजाउ बन्द भएको छ । स्थानीयको कुटाइबाट उनको मृत्यु भएको र अन्य सात प्रहरी घाइते भएका हुन् ।गत सोमबार साँझ भएको झडपले उग्ररुप लिएपछि एक जनाको मृत्यु हुनुका साथै सात जना प्रहरी घाइते भएका थिए । घाइतेहरुको भारतीय अस्पतालहरुमा उपचार भइरहेको सीमा पारीका गाउँ झरोखर थाना (प्रहरी चौकी) का एक प्रहरी अधिकारीले बताएका छन् ।झडपमा विहार समस्तीपुरका ५५ वर्षीय प्रहरीका सहयोगी ‘होम गार्ड’ हृदयनारायण रायको मृत्यु भएको झरोखर प्रहरी कार्यालयका ती प्रहरी अधिकारीले बताउनुभयो ।आमवा गाउँका जनप्रतिनिधि मनोज जयसवाल भरोखरबाट आफ्नो घरतर्फ जाँदै गर्दा बाटोमा मादक पदार्थ जाँच गर्ने प्रहरीको टोलीसित भेट भएपछि प्रहरीले मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गर्न खोज्दा उनीहरुबीच विवाद भएको थियो । विवाद भएको जानकारी पाएपछि झरोखर गाउँका अर्का जनप्रतिनिधि अभय पासवान त्यहाँ पुग्दा तिनीहरुबीच थप विवाद भएको थियो ।यही विवाद भइरहेको र प्रहरीले पासवानलाई कुटेको खबर स्थानीयले पासवानको घरमा दिएपछि गाउँका सयौं महिला, पुरुष ओर्लेर घटनास्थल पुगी प्रहरीमाथि आक्रमण गरेका र दुई पक्षीय झडप भएपछि एक प्रहरी सहयोगी भनिने ‘होम गार्ड’ रायको मृत्यु र सात प्रहरी घाइते भएका हुन् ।घटनापछि प्रहरीले उक्त क्षेत्रमा कारबाही तीव्र पारेको र स्थानीयहरुको भागाभाग भएको छ । सीमा नाका बन्द गरिएको छ । प्रहरीले झरोखर गाउँका कैयौंलाई पक्राउ गरेको छ । भारतीय प्रहरी तथा सीमा सुरक्षा बल (एसएसबी) बलले झरोखर सीमा नाकाबाट नेपाली र भारतीय नागरिकलाई पारी जान र आउन पनि दिएको छैन ।लुकीछिपी नेपाल प्रवेश गरेर भारतीय गाउँ आमवा र झरोखर गाउँका बासिन्दाहरु नेपालतर्फ आश्रय लिएर आफन्तको घर तथा सार्वजनिक ठाउँमा बस्न थालेका छन् । उक्त क्षेत्रमा स्थानीयहरुको भागाभाग भएपछि त्रास फैलिएको छ ।



















