नेपाली समाज सत्यताको पछाडि खासै लाग्दैन । कागले कान लग्यो भनेर सुन्यो भने कान नछामी कागकै पछाडि दौडने प्रवृत्ति छदैछ । कसैले धर्मको नाउँमा गलत क्रियाकलाप गरेपनि ऊ महान हुन्छ । ऊ, देवता नै हुन्छ । नेपालमा केही यस्ता व्यक्तिहरु छन् नै, जो समाजलाई ठगेर आफू भगवान भएको जबरजस्ती पुष्टी गर्ने प्रयास गर्दछन् । यस्तैमा पर्ने व्यक्ति हुुन्, बाराका रामबहादुर बोम्जन । उनले धर्मको नाउँमा मच्चाएको ताण्डव त सार्वजनिक भइ नै सकेको छ ।
फेरि उनको अकुत सम्पत्तिको विषयमा पनि कुरा बाहिर आएको छ । अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।

विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि आठ करोड २७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख छ ।
बारा रतनपुरीका ३५ वर्षीय बम्जनमाथि बाल यौन शोषण र व्यक्तिलाई बेपत्ता पारेको अभियोग छ । त्यही अभियोगको अनुसन्धानका क्रममा उनी २४ पुस, २०८० मा पक्राउ परेका थिए । १४ भदौ २०८१ मा जिल्ला अदालत सर्लाहीले उनीमाथि बाल यौन दुराचारको आरोपमा १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।

धर्मको नाउँमा समाजमा अराजक गतिविधि संचालन गर्ने र यस्तैका पछाडि लाग्ने केही जमातका कारण पनि समाजमा धर्मप्रतिको आस्था पनि घट्दैछ । वास्तवमा यो जमानामा कोही कसैको अनुयायी हुन सक्ला तर पुर्नजन्म भन्ने कुरा हुनै सक्दैन । विज्ञानलाई नै चुनौति दिनेसम्मको हर्कत हुँदा पनि त्यसैमा रमाउने नेपाली समाज पनि उदेक लाग्दो नै छ । जे भएपनि यस्ता अपराधमा संलग्नलाई कारवाही हुनु नै पर्दछ ।

Leave a Reply