वीरगन्ज, वीरगन्जको छिमेकी सखुवाप्रसौनी गाउँपालिकाले वीरगन्ज महानगर–१७ अलौंमा बिहीबार ६ हजार लिटर खाने पानीसहितको ट्यांकी पठायो ।झण्डै दुई महिनादेखि जारी सुक्खा तथा पानी अभाव चरम सीमामा पुगेर वीरगन्ज महानगरवासीलाई पिउने पानीसमेत अभाव हुन थालेपछि सखुवाप्रसौनी गाउँपालिकाले छिमेकी धर्म निभाएको जनाएको छ ।चापाकलबाट समेत पानी आउन बन्द भएर काकाकुलु भएका स्थानीयले धित मर्ने गरी पानी जम्मा गरे ।अलौंको मात्र नभई वीरगन्जका अधिकांश वडावासीको दिनचर्या अहिले खानेपानी जोहो गरी बित्दै छ । विशेषगरी महानगरका सहरी वडा र आसपासको ग्रामीण क्षेत्रमा पनि अवस्था यस्तै बेहाल छ ।चापाकलबाट पानी आउन छोडेको छ । मोटरबाट पानी तान्दा पानि आउँदैन । ‘तराईको समथर सहर वीरगन्जमा मैले ५५ वर्षे आफ्नो जीवनकालमा यस्तो पानीको हाहाकार कहिल्यै अनुभव गरेको थिइन्ँ,’ वीरगन्ज–१३ तेजारथटोलका सुशील अर्यालले भने, ‘अचम्मै भयो, सहजै पानी आउने चापाकल सुकेको छ, धेरै वीरगन्जवासीको यो पीडा हो ।’घरको चापाकलबाट पनि एक सातादेखि पानी आउन बन्द भएको बताउँछन् अर्याल । घरघरका चापाकल मात्र नभई सार्वजनिक स्थलमा रहेका चापाकलहरु पनि सुक्न थालेको अर्यालले बताए ।चापाकल र त्यसमा जोडिएका मोटरबाट पानी आउन बन्द भएपछि खानेपानी संस्थान वीरगन्जमा धारा जडानका लागि निवेदन दिनेहरुको संख्या दैनिक बढ्दो छ । संंस्थान वीरगन्ज कार्यालयमा शुक्रबार भेटिएका जसपा पर्साका अध्यक्ष रामनरेश यादवले वीरगन्ज श्रिपुरस्थित आफ्नो घरको चापाकलमा पनि एक साता देखि पानी आउन बन्द भएपछि खानेपानी संस्थानको धारा जडानका लागि निवेदन दिन आएको बताए ।‘साता दिनदेखि चापाकलमा पानी आएको छैन, मेरो छर छिमेकको घरमा पनि यस्तै समस्या छ,’ उनले भने, ‘अब खानेपानी संस्थानको धारा जडान नगरी धरै भएन ।’उनले ५० देखि ६० मिटर मात्र पाइप गाडिएको चापाकलहरुमा पानि आएको तर २ सयदेखि २ सय ५० मिटर सम्म पाइप गाडिएको चापाकलहरुमा भने पानी नआएको बताए । ‘सम्भवतः जमिन मुनि ५०र६० मिटरसम्म पानीको लेयर छ, त्यसपछि तल पानी छैन,’ उनले भने, ‘वीरगन्जमा यसरी भुजलको सतह बिग्रिएर पानी नै आउन बन्द भएको मैले पहिलो पटक अनुभव गरेको हुँ ।’पानी अभावसँगै वीरगन्जवासीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत् जनप्रतिनिधि र सरकारी कर्मचारीको कडा आलोचना गर्न थालेका छन् । खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख इन्जिनियर निरण महर्जनका अनुसार महानगरका चापाकलहरुमा पानि आउन छोडेपछि संस्थानमा धारा जडान गर्न आउने सेवाग्राहीको संख्या दैनिक बढ्दो क्रममा रहेको छ ।‘सातायता सेवाग्राहीको भीड थेग्नै नसकिने भएको छ,’ उनले भने, ‘बिहीबार ८१ वटा पानीको लाइन जडानको निवेदन परेको थियो, शुक्रबार पनि त्यस्तै अवस्था छ, सातायता यस्तै अवस्था छ ।’उनले कार्यालयमा उपलब्ध जनशक्तिले दैनिक ४ देखि ८ वटा धाराको लाइन जडान गर्न सकिने बताए । हाल संस्थानको वीरगन्जमा ग्राहकको संख्या ८ हजार १ सय मात्र रहेको र संस्थानको वीरगन्जमा रहेको पूर्वाधारबाट दैनिक १० देखि १२ घण्टासम्म ६२ लाख लिटरसम्म खानेपानी वितरण गर्न सकिने उनले बताए ।वीरगन्ज महानगरपालिकाको कार्यालयले भने शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महानगरवासीलाई इजाजत बिना अनधिकृत रुपमा डिप बोरिङ जडान नगर्न सूचित गरेको छ ।कान्तिपुरबाट

Leave a Reply