केही धार्मिक दन्त्य कथाहरुमा के चर्चा गरिएको छ भने, सुरुमा भगवानको बस्ती भएको स्थानमा वा भगवानका समर्थक मानिस भनिएकाहरुका लागि राक्षसहरुले आक्रमण गरी हत्या गर्छन् अनि पछि भगवानका नेतृत्वकर्ताहरुले लडाईको नेतृत्व लिएपछि फेरि राक्षसहरुको नास हुन्छ ।तर त्यो शायद काल्पनिक कथामात्रै हो । व्यवहारमा भने त्यसो भएको छैन । करिब १८ वर्षअगाडि रौतहट जिल्लाको गौरमा यस्तै एउटा घटना भयो जुन जति निन्दा गरे पनि कमै हुने एक मानवता विरोधी घटना हो ।त्यसो त यो घटनाको तत्कालिन मधेसी जनअधिकार फोरका नेताहरु उपेन्द्र यादव, जयप्रकाश गुप्ता लगायतले जिम्मा लिइ नै सकेका छन् । माओवादी कार्यकर्ताहरुको नाउमा २९ जना होनाहार नेपालीहरुको निर्मम तवरले गौरमा हत्या गरिएको थियो । माओवादी युद्धमै भएको भएपनि फरक कुरा हुने थियो होला तर शान्तिवार्तामा आएको माओवादी कार्यकर्ताको हत्या हुनु शान्ति विरोधि गतिविधि त थियो नै साथमा मानवता विरोधी पनि गतिविधि पनि थियो ।सोमबार मात्रै गौर घटनामा मारिएका परिवारका सदस्यहरुले रौतहटको सदरमुकाममा प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् । गौरमा भारतबाट ल्याइएका लठैतहरुले माओवादीहरु कार्यकर्ताहरुलाई घरेलु हतियारले हिर्काएर मारेका थिए ।त्यसैले त्यो हत्यामा संलग्नहरुलाई सिधा कारबाहीको संभावना त कम छ तर राजनीतिक संरक्षण नहुने हो भने निर्देशन दिनेलाई कारबाही गर्न सकिन्छ र गर्नु पनि पर्दछ तर सरकारले कारबाही गर्नुपर्नेमा यही सरकारको सारथीको रुपमा उपेन्द्र यादवहरु भएकाले पीडितले न्याय पाउने संभावना भने कमै छ ।

Leave a Reply