नेपाली कम्युनिष्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल (प्रचण्ड) ले केही दिन अघि आफ्ना केन्द्रीय सदस्यलाई कारबाही गर्ने भनेको कुरा सुनियो अनि नेपाली काँग्रेसमा त यो समस्या कति विकराल भएको छ भन्ने कुरा बारा काँग्रेसलाई मात्र हेरे पनि हुन्छ ।
त्यसैगरी नेकपा एमालेभित्र पनि धेरथोर यो समस्या छ तर पनि कारबाही कै कुरा चाहि अहिलेसम्म एमालेमा भने खासै सुनिएको छैन । मुख्यतः गत महिना सम्पन्न भएको प्रतिनिधि सभा सदस्य चुनावमा नराम्रोसँग पराजय भोग्नु परेकोले पनि माथि उल्लेखित दलका नेता, कार्यकर्ताहरुमा अहिले पीडा र कुण्ठा देखिएको छ । चुनावमा पराजय हुनु परेको पीडा उम्मेदवारहरुमा झन बढी नै छ ।

हुन पनि कतिपय निर्वाचन क्षेत्रमा यी दलले सहज जीतको अनुमान गरेकोमा लज्जास्पद हार बेहोर्नु परेको छ । निर्वाचनमा देशव्यापि परिणाम हेर्दा कतिपय स्थानमा अलिक बढी मेहेनत भएको भए जित्ने जस्तो पनि देखिन्छ भने कतिपयमा अन्तरघात नै भएको हो कि भन्ने पनि देखिन्छ ।
बाराको क्षेत्र नम्बर ४ लाई अहिले काँग्रेसले मुख्य मुद्दा पनि बनाइरहेको छ । चुनावमा पराजय भएको बेलामा कारबाहीको कुरा उठ्नु स्वभाविक भएपनि कारबाही कसरी र कसले अनि कतिलाई गर्ने भन्ने प्रश्न छ ।कतिपय व्यक्तिहरु कारबाहीमा परेका भनिएकाहरु नै रास्वपाबाट चुनावमा उठेर विजयी भए भोलि यस्तै अवस्था नआउला भन्न पनि सकिन्न । त्यसैले पनि कारबाही भन्ने कुरा त यो क्षणिक नै होला । बरु संगठन बलियो बनाउने र कम्तीमा नेता तथा कार्यकर्तालाई विचारमा बाँध्न सके अनि जनताको मन जिते कारबाही, प्रचारको धेरै आवश्यक रहेनछ भन्ने कुरा हालै सकिएको चुनावले स्पष्ट पारेको छ ।
जनताको मन जितेपछि धेरै नेता कार्यकर्ता पनि नचाहिने रहेछ भन्ने कुरा पनि यस पटकको निर्वाचनबाट प्रमाणित भएको छ । त्यसैले बरु अब यी दलहरुले पनि कार्यकर्ताहरुमाथि कारबाहीभन्दा जनतको मन जितेर अर्को पटकको चुनाव जित्नतिर लाग्ने पो हो कि ।

















