बसन्त लामा
सिंगौल,किसानले जंगलमा चराउन लगेको बाख्रा बाघले दिनहुँ खान थालेपछि निजगढ नगरपालिका वडा नम्बर ३ को सिंगौलका बासिन्दा चिन्तित बनेका छन । सिंगौलस्थित लालिगुँरास सामुदायिक वन क्षेत्रको जंगलमा केहि दिनयता देखा परेको बाघले बाख्रा खान थालेपछि स्थानीयमा त्रास फैलिएको हो ।
स्थानीय हिरालाल बल अन्य २ जनाले जंगलमा चराउन छोडेका ३ वटा बाख्रा बाघले मारेर आधा खाएको अवस्थामा मंगलवार र सोमवार फेला परेको थियो । बस्ति नजिकैको जंगलबाट बाघले दिनदहाडै बाख्रा खान थालेपछि गाउँमा पनि बाघ प्रवेश गर्ने हो कि भन्ने आशंकामा गाउँलेमा त्रास बढेको स्थानीय प्रेमबहादुर राना मगरले बताउनुभएको छ ।
बाघको आतङ्क बढेपछि पशुपालन गरेर जीविका चलाउदै आएका स्थानीयलाई घाँस दाउरा खोज्न जंगल जानसमेत कठिनाइ भएको सोही गाउँकी माया लामाले गुनासो गर्नुभयो । बाघको त्रास बढ्दै गएपछि वडा नम्बर ३ का बासिन्दाहरुले नियन्त्रणको लागि पहल गरिदिन सम्बन्धित निकायसंग अनुरोध गरेका छन । उनीहरुले प्रहरी र नगरपालिकाले बाघ नियन्त्रणको लागि पहल गर्नुपर्ने बताएका छन ।