सिमरा,नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बारा जिल्लामा नीतिगत भ्रष्टाचार बढ्दै गएको भन्दै स्थानीय तहसम्म भ्रष्टाचार संस्थागत बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।‘बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुमिका’ विषयमा जीतपुरसिमरामा शुक्रवार भएको एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले सबै एकजुट भएर भ्रष्टाचारको अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले समाजमा भएका मानव अधिकार हनन्का घटनाको जानकारी समेत सम्बन्धित संस्थालाई गराउन सहभागीहरुसंग अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य मञ्जु थापा मगरले भ्रष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो ।त्यसैगरी नेकपा एमाले प्रदेश कमिटीका सदस्य मनोज पौडेलले विकासे कार्यालयहरुमा भ्रष्टाचार धेरै हुनेगरेको दृष्टान्त प्रस्तुत गर्दै उपभोक्ता र स्थानीय नागरिक सचेत भएमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने कुरा बताउनुभएको थियो ।मधेस प्रदेश सभाकी पूर्वसदस्य सीता गुरुङले पनि मानव अधिकार संरक्षणको लागि सबै एक हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला अधिकारीले भ्रष्टाचार बिरुद्ध एकतावद्ध भएर पहल गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्थानीय तहमा विकास बजेटको दुरुपयोग भइरहेको बताउनुभयो । उहाँले निर्वाचनमा ठुलो खर्च गरेर निर्वाचित भएका जनप्रतिनिधिहरुले निर्वाचनमा भएको खर्च असुल गर्न खोज्दा भ्रष्टाचार बढदै गएको बताउनुभयो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका निमित्त प्रमुख ताराप्रसाद आचार्य, एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका नगर उपाध्यक्ष त्रिलोक बिक्रम ठकुरी, नगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष संजय साह, वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, जीतपुरसिमरा उपमहानगरपालिका न्यायिक समितिकी सदस्य सिता उप्रेती, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ७ का एमाले वडा अध्यक्ष अनिल गुप्ता, एमाले वडा नम्बर २ का अध्यक्ष रविन्द्र खकुरेललगायतको उपस्थिति रहेको थियो । मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रमको सहजीकरण एलाईन्सका सचिव श्रीराम साहले गर्नुभएको थियो ।