वीरगञ्ज,वीरगञ्जमा बन्ने चिडियाखानाको चार किल्ला तोकिएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चार किल्ला तोकेको हो ।मन्त्रालयले वीरगञ्ज महानगरपालिका–३२ स्थित सबैया साझेदारी वनको ५० हेक्टर जमिनमा प्राकृतिक चिडियाघर बनाउन लागेको हो ।मन्त्रालयका अनुसार पूर्वमा रामवन बस्ती, पश्चिममा सोलखपुर जाने बाटो, उत्तरमा १० बिगाहा फेन्सदेखि भेडाहा खोला जाने बाटो र दक्षिणमा टिकघारे क्षेत्र भित्रको सामुदायिक वनलाई प्राकृतिक चिडियाखाना बनाइने भएको छ ।सरकारले २७ भदौ २०७९ मै सामुदायिक वन स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार चार किल्ला तोकिएको मन्त्रालयले जनाएको छ ।चिडियाखानाका लागि अर्थ मन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति पनि दिइसकेको वन मन्त्रालयले जनाएको छ । जसबाट चिडियाखानाको क्षेत्रमा तार बार गर्न, गुरुयोजना बनाउने लगायत काममा खर्चिने छ ।

















