कृष्ण मोहन साह
सेढवा,पर्सामा सिँचाईका लागि संघीय सरकारले संचालनमा ल्याएको योजना ६ वर्षदेखि अलपत्र परेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा रहेका घोडेमसान खोलाबाट सिँचाईका लागि पानी ल्याएर जिल्लाको पश्चिमी क्षेत्रका किसानको खेतमा पुर्याउने योजना अलपत्रमा परेको हो ।जिराभवानी र ठोरी गाउँपालिका अन्तर्गतका खेतीयोग्य जमिनको सिँचाईका लागि करिब १८ करोडको रुपैयाको लगानीमा आयोजना निर्माण थालिएको थियो । तर आयोजना कार्यान्वयनमा समस्या आएपछि छ वर्षदेखि अलपत्र परेको छ ।मानव बस्तीबाट १७ किलोमिटर टाढा जंगलभित्र रहेको सो खोलाबाट पानी ल्याउन जंगलभित्र र बाहिरको कुलो निर्माण कार्य पहिलो चरणको काम आर्थिक वर्ष २०७३÷७४ सम्ममा सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष जरी लामाले बताउनुभएको छ । सो आर्थिक वर्षमा निकुञ्जभित्रको कुलो निर्माणमा ६५ र बाहिरको कुलो निर्माणमा ८५ लाख रुपैया खर्च गरिएको अध्यक्ष लामाले बताउनुभएको छ । कुलोको कतिपय स्थानमा पर्ने खोलामा पक्की साइफन समेत निर्मण गरिएको छ ।जंगलभित्र भन्दा बाहिर रहेको ठोरी गाउँपालिका वडा नं ५ मा पर्ने गडुवालाईन, क्षेत्रीलाईन, छिरिङ्गलाईन, सचवर्णपुर, प्रधानटोल, बथेटोललगायतका क्षेत्रमा कुलो निर्माण गरिएको थियो ।यसका साथै डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको वनमा र जिराभवानी गाउँपालिकामा पर्ने शान्तिनगर, हरैया क्षेत्रमा पनि कुलो निर्माण गरिएका थियो । सो समयमा निर्माण गरिएका करिब ४० किलोमिटरभन्दा बढी कुलो पुरिएर समथर बनेको शान्तिनगरका रविमोहन सापकोटाले बताउनुभयो । सिँचाई योजनाको कार्य बन्द हुँदा यस क्षेत्रका किसानहरु निराश भएको सापकोटाले जनाउनुभयो ।आयोजनाको निर्माण सुरु भएसंगै किसानले खडेरी र सुख्खाको मारबाट मुक्ति पाउने आशा राखेको तर सो आशा पुरा नभएको सापकोटाले बताउनुभयो । कछुवाको गतिमा भएको निर्माण कार्य देखेर किसानहरु निराश भएको उहाँले बताउनुभयो ।योजनाबाट करिब एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सुविधा पुग्ने र एक हजारभन्दा बढी किसान लाभांन्वित हुने बताइएको थियो ।सिँचाई डिभिजन कार्यालय पर्साका तत्कालिन प्रमुख राजकुमार खगले आयोजनाको निर्माण कार्य सुरु गराउनुभएको थियो । तर खगको सरुवापछि सिँचाई डिभिजन कार्यालयले आयोजनाको बारेमा कुनै वास्ता नगरेका निर्माण समितिका सदस्य भिमबहादुर पाख्रिनले गुनासो गर्नुभएको छ ।अर्थिक वर्ष २०७४-७५ देखि हालसम्म कुनै पनि कार्य नगरिएको पनि समितिका सदस्यहरुले जनाएका छन । सो कुलोबाट साबिक गाविस सुवर्णपुर, महादेवपट्टी, सेढवा र शंकरसरैयाका किसानहरु प्रत्यक्ष लाभान्वित हुने देखिन्छ ।


















