काठमाडौँ — मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै ३ महिनाअघि सरकारबाट बाहिरिएको जनमत पार्टीलाई पुनः सरकारमा फर्काउन सत्ता गठबन्धनले तयारी गरेको छ । सोमवार बसेको गठबन्धन दलको बैठकले उक्त पार्टीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको हो ।बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रालयबारे छलफल नभए पनि सरकारमा सहभागी गराउने विषयमा सत्ता गठबन्धन एकमत भएको बताउनुभयो । ‘प्रधानमन्त्रीले माओवादी केन्द्र वा कांग्रेसको भागमा रहेको एक मन्त्रालय जनमतलाई दिनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको जिम्मा प्रधानमन्त्रीलाई दिने गरी जनमतलाई सरकारमा सहभागी गराउने निर्णय भएको हो ।’पुस १० को गठबन्धनअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन र विश्वासको मत दिएको जनमतले उक्त गठबन्धन भत्किए पनि समर्थन कायमै राखेको छ । चैत १७ को मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नपाएपछि जनमतबाट सरकारमा सहभागी खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिनुभएको थियो ।पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्रीले सरकारमा सहभागी हुनका लागि आग्रह गरेपछि पार्टीभित्र सकारात्मक ढंगले छलफल अघि बढेको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहाल र पार्टी अध्यक्ष सीके राउतबीच आइतवार सरकारमा सहभागिताबारे छलफल भएको थियो ।उपाध्यक्ष खानले उपप्रधानमन्त्री दिएको अवस्थामा पार्टी अध्यक्ष राउत नै सरकारमा सहभागी हुने बताउनुभयो । मन्त्री मात्र दिने भएमा राउतबाहेक अरू नेता सरकारमा जाने उहाँको भनाइ छ ।पछिल्लो समय प्रधानमन्त्री दाहालले जसपालाई निरन्तर काखी च्यापेपछि जनमत पार्टी सत्ता गठबन्धनसँग टाढिँदै गएको थियो । प्रतिनिधिसभामा बजेट पारित गर्ने सम्बन्धमा बुधबार भएको मतदानमा तटस्थ बसेर दाहाल सरकारलाई आफ्नो असन्तुष्टि प्रकट गरेको थियो । उक्त पार्टीका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको अभिव्यक्ति दिनुभएको थियो । झिनो बहुमतले बजेट पारित भएको र अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गिराउन प्रयास थालेपछि प्रधानमन्त्री दाहालमाथि जनमतलाई सरकारमा लिने दबाब परेको हो ।अहिले कांग्रेस ९, माओवादी ५, जसपा र एकीकृत समाजवादी २–२ तथा लोसपा, नागरिक उन्मुक्ति र नेसपासँग १–१ मन्त्रालय छन । निकटस्थका अनुसार प्रधानमन्त्री दाहाल सकेसम्म कांग्रेसलाई सहमत गराएर उसको भागको एक मन्त्रालय जनमत पार्टीलाई दिने तयारीमा हुनुहुन्छ ।

 

Leave a Reply