निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सुके पोखरी ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न निजगढ नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ ।

सुकेपोखरी संरक्षण अभियानले संचालन गरिरहेको सरसफाइ अभियानको निरीक्षण गर्न शनिबार सुकेपोखरी पुग्नुभएका नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो । संरक्षण अभियानअन्तर्गत स्थानीयले विगत ३ महिनादेखि श्रमदानमार्फत पोखरी डिलको झाडी सरसफाइ गर्दै आएका छन । झाडी सरसफाइमा स्थानीयसंगै नगर प्रमुख पुरीले पनि श्रमदान गर्नुभएको थियो ।

नगर प्रमुख पुरीले तालको सरसफाइ र संरक्षणमा स्थानीयले गर्दै आएको श्रमदान प्रशंसनीय र अनुकरणी भएको पनि बताउनुभयो । ‘स्थानीयले गर्दै आएको कार्य प्रशसनीय छ, उहाँले भन्नुभयो, यसबाट अन्यलाई पपिन विकासको काममा श्रमदान गर्ने प्रेरणा मिल्ने छ ।’

पोखरीको संरक्षण गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने पनि नगरप्रमुख पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुकेपोखरीसंगै सिगौंलको सितल छहारी भरना र नगरका अन्य पर्यटकीय स्थलको पनि संरक्षण र विकास गरेर निजगढलाई आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बनाउनुपर्छ ।’ नगर प्रमुख पुरीले निजगढमा प्रचुर पर्यटकीय शंभावना रहेको र यसको समुचित विकास गर्नु पर्ने पनि बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार धिताल, निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामालगायतको पनि सहभागिता रहेको थियो ।

निजगढ नगरपालिका वडा नम्बर‐ १ सिगौलका अभियान्ता सर्जु थापाको अगुवाइमा ३ महिना अघिबाट सुके पोखरीको सरसफाइ र संरक्षण अभियान सुरु भएको हो । थापाको नेतृत्वमा स्थानीयले प्रत्यक शनिबार तालको सरसफाइसंगै वृक्षारोपण र पोखरीको डिलमा रहेको झाडी सरसफाइ कार्य गदै आएका छन । संरक्षणसहित पूर्वाधारहरुको निर्माण गर्न सके सुके पोखरीलाई बारा जिल्लाकै आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्न सकिने अभियन्ता थापाको पनि भनाइ छ ।

निजगढ–सिगौंल सडकखण्ड अन्तर्गत राष्ट्रिय वन क्षेत्रभित्र पर्ने सो पोखरी करिव १० बिगाहा क्षेत्रमा फैलिएको छ ।

Leave a Reply