निजगढ,नेकपा माओवादी केन्द्र निजगढले शुक्रवार निजगढमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।
एमसीसीको विरोधमा माओवादी केन्द्रको भ्रातृ संगठनहरुले निजगढ बजारमा विरोध प्रदर्शन गरेका हुन । माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), अनेम संघ (क्रान्तिकारी) तथा वाईसिएल नेपालको संयुक्त आयोजनामा निजगढको शहीद चोकमा विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरुले एमसीसीविरुद्ध नाराबाजी गरेका छन् ।
नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । प्रदर्शनपछि शहिद चोकमा गरिएको कोण सभामालाई अनेम संघ निजगढकी अध्यक्ष धनमाया तमाङले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्न उठेकाले त्यसबारे आम सहमति नगरिकन संसदमा लैजानै नहुने बताउनुभयो । त्यस्तै सभालाई सम्बोधन गर्दै माओवादी केन्द्र निजगढका नगर अध्यक्ष सन्तोष दंगालले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताउनुभयो । उहाँले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताउनुभयो । माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जन वर्गीय सङ्गठनहरूलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । यथास्थितिमा एमसीसी पास नगर्ने माओवादी केन्द्रले बताउँदै आएको छ ।